१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

जुभिङघाटमा मोटरेबल पुल निर्माण तीव्र


२४ फाल्गुन २०८०, बिहिबार  

306
Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु र माप्य दुधकोशी गाउँपालिका १ जुभिङ जोड्ने गरी जुभिङघाट स्थित दुधकोशी नदिमाथि निर्माणाधीन मोटरेबल पुल निर्माणले तीव्रता लिएको छ ।

सगरमाथा पर्यटन सडक खण्ड अन्तरगत पर्ने सो पुल आगामी वैशाख मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण कम्पनीका साइट इन्चार्ज बुद्धि बहादुर मगरले जनाएका छन् । पुल यथाशीघ्र निर्माणको लागि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले निरन्तर दबाब सृजना गर्दै आएका छन् । 

मेयर शेर्पाले भने, ‘सोलुदुधकुण्ड नगरपालिका वडा नं १ र माप्यदुधकोशी गाउँपालिका वडा नं १ मा अवस्थित दुधकोशी नदीमा ५५ मिटर लम्बाइ र ११ मिटर चौडाइको मोटरेबल पुलको निर्माण कार्य अत्यन्तै द्रुतगतिमा अगाडी बढिरहेको छ । यही वैशाख महिना भित्र पुलको निर्माण कार्य सम्पन्न हुने गरी हामी लागि परेको छौँ । पुल निर्माण सम्पन्न सँगै खुम्बु क्षेत्रको यातायात सहज हुनेछ ।’

महादेव खिम्ती हिराचन जेभीले २०७५ सालमै ७ करोड ६ लाख बजेटमा पुल निर्माणको जिम्मा लिएको थियो । सडक डिभिजन कार्यालय, हर्कपुरमार्फत विनियोजन बजेटबाट निर्माणाधीन पुलको गत वर्ष मेयर शेर्पाले शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १ : १५ बजे