१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

७ भाइको सहकार्य र लगानीमा ‘सुकुटे रिभर फन बिच रिसोर्ट ’



काठमाडौंबाट ६८ किलोमिटर यात्रा गरेपछि सिन्धुपाल्चोक जिल्लाको सुकुटे पुगिन्छ । सुकुटे बजारबाट सुनकोशी नदी तरेर मात्र ९०० मिटर पारी गएपछि ठूलो पहाडको मुनि घनाजंगलको केही तल नदी किनारमा देखिन्छ एउटा शान्दार रिसोर्ट सुकुटे रिभर फन बिच रिसोर्ट ।

३५ रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट पहाड र हरियाली नै हरियालीको बीचमा छ । माथि जंगल ,वरिपरी केराघारी, अगाडी बगिरहेको सुनकोशी नदि । रिसोर्टबाट पारी देखिन्छन् अरनिको राजमार्गमा गुडिरहेका सवारीसाधन अनि राजमार्ग माथि सल्लाघारी ।

कामको थकान र व्यस्त दैनिकीबाट केही पर छुट्टै परिवेशमा साथीभाई , परिवार लिएर नजिकै कतै आरामदायी ठाँउमा एकरात बस्न, घुम्न रमाउन जाउँ भन्नेहरुका लागि उत्कृष्ट गन्तब्य बन्दै गएको छ सुकुटे रिभर फन रिसोर्ट।

गर्मीको समयमा पानीसँग रमाउनेहरुका लागि त यो ठाँउ भव्य नै रहने छ । रिसोर्टमा रहेको ठूलो पौडी पोखरी अनि भोटेकोशी, सुनकोशी नदिमा गर्नेे साहसिक खेल र्‍याफ्टिङ सुकुटेको अर्को विशेषता हो ।

सुकुटेमा बस्न गएकाहरु साँझ डिजे म्यूजिकमा रातको १२ वजेसम्म झुमिरहेका हुन्छन् । विहानै उठेर धेरै जसो र्‍याफ्टिङ जाने गरेका छन् । भोटेकोशी नदिमा र्‍याफ्टिङबाट लिने मज्जा बेग्लै किसिमको हुनेछ । प्रकृतिसँग रमाउदै कम्तिमा एक दुई दिन सुकुटेमा वस्न यो ठाँउ निकै लोकप्रिय बनिरहेको छ । सुकुटे रिभर फन रिसोर्टले आन्तरिक र वाह्य पर्यटकका लागि साहसिक खेलसँगै बसोवासको राम्रो व्यवस्था गर्दै आएको छ ।

सुकुटे रिभर फन बिच रिसोर्टको बारेमा भिडियो सामग्री हेर्नका लागि यो लिंक क्लिक गर्नुहोस् ।

प्याकेजमा जाँदा कति लाग्छ खर्च
सुकुटे रिभर फन रिसोर्टमा टेन्टमा सुतेर फर्कन्छु भन्नेहरुका लागि प्रतिव्यक्ति १९ सय ९९ देखिको प्याकेज छ । रुममा बस्छु भन्नेका लागि २७ सय ५० देखि ४५ सय सम्मका ’सुइट रुम’ समेत रहेका छन् । त्यसमा खाना/खाजा गरेर ३ पटक खाना उपलब्ध गराइने छ । र्‍याफ्टिङ गर्ने हरुका लागि प्रतिव्यक्ती १५ सय अतिरिक्त रकम तिर्नुपर्ने हुन्छ । साथै दिउँसोको समयमा पिकनिक जानेहरुका लािग पनि मेन्युका आधारमा रकम निर्धारण गरेर सेवा दिइँदै आएको छ । भने प्याकेजमा जानेले र्‍याफ्टिङ सहित ३ हजारमा सेवा लिन सक्छन् ।

लगानीकर्ता सबैजना विदेशका विभिन्न प्रतिष्ठित होटलमा सेफको काम गरेर फर्केको हुनाले पनि खाना स्वादिष्ट र अर्गानीक रहेको छ । साग लगायतको तरकारी त्यही उत्पादन गर्ने गरेका छन् । मासु मन पराउनेहरुका लागि खसी बोका त्यहाँ नै पालिएको छ । तोकिएको रकम तिरेर अर्डर गर्न सक्ने छन् ।

खाडिको पसिनाले यसरी खुल्यो रिसोर्ट
यो रिसोर्टमा अहिले  टंकनाथ गुरागाई ,बिमल गिरी, ललित गिरी ,विष्णुसिंह ठकुरी ,राजकुमार गिरी , विजुराज गिरी ,रमेश गिरी सहितको जम्मा ७ जनाको लगानी रहेको छ । यसमध्य रमेश गिरी बाहेक अन्य सम्पूर्णको १५ बर्ष भन्दा बढी विदेशका विभिन्न स्टार होटलहरुमा सेफको काम गरेको अनुभव छ । दुवईमा नै हुदाँ आफूले पाउने मासिक पारिश्रमीकबाट समूहमा मिलेर थोरै थोरै वचत गरेको रकमबाट सुरुमा लगानी जुटाएका हुन । प्रवासमा धेरै बसेर हुँदैन आफ्नै मुलुकमा फर्केर आफूले जानेको सीप अनुसारको व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी बोकेर उनीहरु नेपाल फर्केका हुन् ।

सुरुमा होमस्टेसुरु गर्ने भनेर सुकुटेको पाखो जमिन भाडामा लिएका थिए । निकै मेहेनतका साथ उनीहरुले रिसोर्टमा परिवर्तन गरे यो बीच उनिहरुको दुख मेहेनत र लगनशिलता र धैर्यताको लामै फेरिस्ता छ । रिसोर्ट सुरु गर्ने वितिकै सुरुभएको लकडाउनले ठूलै निराशा निम्त्याएको थियो ।

आपसमा मिलेर अघि बढेका यी युवाले व्यवसायमा करिव ७ वर्षमै लामो फड्को मारेका छन् । .करिव ६० लाख रुपैयाँबाट सुरु गरेका व्यवसायको पुँजी अहिले करोडौंमा छ । सुरुमा भाडामा लिएको २६ रोपनी जग्गा अहिले धेरै जसो उनीहरुले खरिद गरिसकेका छन् । उपत्यका लक्षित व्यवसाय पनि उनीहरुको संचालनमा छ । भक्तपुरको गठ्ठाघरमा मझेरी क्याफे एण्ड लाइभ सेकुवा घर समेत संचालनमा ल्याएका छन् ।

उनीहरु मिलेर काम गर्छन मालिक हुँ भन्ने घमण्ड छैन । जुनसुकै बेला किचन होस् या टेबुलमा पुगेर सबैजना आफै खटिएर काम गरिरेका भेटिन्छन् । समूहमा मिलेर मेहेनतका साथ आफ्नै देशमा गरेको व्यवसायबाट उनीहरु खुसी देखिन्छन् । आगामी दिनमा होटल रेष्टुरेन्ट क्षेत्रमा थप लगानी गर्दै सुकुटे रिभर फनलाई थप व्यवस्थित गर्ने उनीहरुको लक्ष्य छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ९ : २१ बजे