१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

कोरिया रोजगारीमा नेपाली श्रमिक लक्षित तीन क्षेत्र थपिए 


२ चैत्र २०८०, शुक्रबार  

10
Shares

काठमाडौं। नेपालीका लागि आकर्षक रोजगार गन्तव्य रहँदै आएको दक्षिण कोरियाले सन् २०२४ देखि ६ वटा क्षेत्रमा नेपाली युवालाई रोजगारीका लागि लैजाने भएको छ।

हाल कृषि, उत्पादनमूलक र पानीजहाज निर्माणतर्फ मात्रै नेपाली श्रमिक लगिँदै आएकामा कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्र क्रमशः वन, सेवाक्षेत्र र रुट इन्डस्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने घोषणा गरेको हो।

भाषा परीक्षामा पास भएका र फर्किएर आएपछि कोरिया जान पुनः परीक्षा दिएर पास भएकालाई थप अवसर दिन कोरियाले ३ वटा नयाँ क्षेत्रमा श्रमिक लैजाने औपचारिक जानकारी गराएको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए। 

उनका अनुसार परीक्षा पास भइसकेकालाई कोरिया लैजान ढिलाइ हुँदा गुनासो बढेसँगै कृषितर्फ भाषा परीक्षा पास भएकालाई वनतर्फ र अन्यलाई सेवा तथा रुट इन्डस्ट्रीतर्फ पनि लैजान सकिने जानकारीसहितको पत्र कोरियाले औपचारिक रुपमा पठाएको हो।

कोरियाले यो वर्षभन्दा अर्को वर्ष १३.२ प्रतिशत बढी कोटा दिएर श्रमिक लैजाने गरी पत्र नेपाललाई प्रेषित गरेको उनको भनाइ छ। कोरियाले रुट इन्डस्ट्रीमा श्रमिक लैजान छनोट भएकालाई ‘स्क्राफोल्डिङ’को तालिम दिँदै आएको छ। यसमा मोल्डिङ, कास्टिङ, वेल्डिङ, प्लास्टिक वर्किङलगायत क्षेत्र पर्छन्।

कोरियन भाषा परीक्षा उत्तीर्ण भएका कामदार दुई वर्षसम्म कामदारको सूची (रोस्टर) मा बस्न पाउने प्रावधान छ। कोरियाको साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने कामदारको उचाइ, तौल, लिंग, उमेर, कामदारको अवस्था र देशलगायत विवरण खुलाएर कोरिया सरकारको सरकारी निकाय एचआरडी सर्भिस अफ कोरियासमक्ष कामदार माग गरी पठाउने गरिन्छ। सोही प्रक्रियाअनुसार हालसम्म  १ लाख बढी नेपाली कामदार कोरिया पुगिसकेको घिमिरेले तथ्यांक दिए।

ईपीएस शाखाको बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘रोस्टरमा रहेका कामदार छनोट रोजगारदाता मुलुक दक्षिण कोरियाको साना तथा मझौला उद्योगबाट कामदार आवश्यक परी माग भएर आएपछि मात्र छनोट हुने हुँदा कुनै पनि प्रक्रियामा कोही कसैको भनसुन एवं ईपीएस कोरिया शाखा, एचआरडी कोरिया शाखालगायत कुनै पनि निकायको हात नरहने र प्रक्रियाबाट हुँदै आइरहेको र सोहीबमोजिम हुँदै जाने यथार्थ प्रस्ट पार्न चाहन्छौं।’ 

कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप विल्डिङ क्षेत्रबाट मात्र कामदार लगिरहेकामा सन् २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्र समेत थपेर नेपालबाट कामदार लैजानेछ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १२ : ०७ बजे