१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

कतै विदेशको भर, कतै…



एयरपोर्ट जाने प्लान पूर्व निर्धारित थियो । कतारबाट बैनीको बिहेका लागि नेपाल आएका मावली भाइ कामका लागि फर्कँदै थिए । ऊ एक्लो थियो । म काठमाडौँमै भएकाले यसलाई अभिभावकत्व दिलाउन म बिदाइमा सहभागी बन्नुपर्छ । यो मनको आवाज थियो । राती अबेर सुत्ने र बिहान ढिला उठ्ने बानीलाई ब्रेक लगाउँदै २ घण्टा निद्राको समय कटौती गरे । आइतबार बिहानै एयरपोर्ट लागे ।

चैतको महिना भए पनि बिहान त चिसै हुँदो रहेछ । फाल्नका लागि ठिक्क पारेको तर नफालिसकेको पन्जा ख्वास छिराएर मोटरमा हुइँकिए । एकै मिनेट ढिला हुँदा भाइलाई नभेटिएला भन्ने डर थियो । बिदाइमा खादा, माला लगाउने नेपाली चलन नै हो । खादा एयरपोर्ट गेट तिरै किनौला भन्ने अघिल्लो दिन देखिकै सोच थियो ।

एयरपोर्ट पुग्ने बेलामा (पशुपतिनाथ मन्दिर तर्फबाट जाँदा बायाँ साइडमा)खाँदा, माला किन्न पाइन्छ भन्ने थाहा थियो । सोही अनुसार जाँदै गर्दा दोस्रो फुटफाट पसलमा मोटर रोकेँ । भने,

आमा, मलाई एउटा खाँदा दिनुस् ।

आमाले मलाई खादा दिनुभयो ।

मैले सोधेँ, कति ?

आमा : एक सय

खाँदा गोजीमा हाल्दै गर्दा आमाले हात देखाउँदै भन्नुभयो । चिसोले यस्तो हुँदा पनि बस्नु परेको छ । सायद, आमालाई लाग्यो कि मूल्यमा बार्गेनिङ गर्छ । मैले सोधेँ, अनि आमा घरमा को–को हुनुहुन्छ ?

आमा : जति छोरा छोरी भए पनि बुढेसकालमा एक्लै भइदोरहेछ ।

परिवारको पूरा सोध्न मै हतारमा थेँ । तै पनि एउटा प्रश्न सोधेँ, अनि आमा, कति कति बेला यसरी बस्नुहुन्छ ?

आमा : बिहान एक छिन हो बाबु, बालेनको डर छ, पुलिस आइहाल्छ, भाग्न सक्दिन, भेट्यो भने सबै सामान लगिदिन्छ । पुलिस आउने समय छलेर बस्छु ।

खादाको मूल्य एक सयमा पचास रुपैयाँ थपेर (गक्ष अनुसार) पैसा बुझाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तर्फ हुइँकिए । भाइको तारन्तार फोन आइरहेको थियो ।

नभन्दै म पुग्दा एयरपोर्टको पास लाइनको मुखैमा पुगिसकेका रहेछन् । पुग्नासाथ खादा लगाएर शुभ यात्राको कामना गरे । त्यही मेसोमा एउटा सेल्फी खिँचे । बिदाइका हात हल्लाएर बिस्तारै किनारा लागे ।

एकै छिन एयरपोर्टको दृश्य निहाल्ने चाह लाग्यो । कसैका गहभरि आँसु थियो । त, कसैको ओठमा हाँसो । समय, परिस्थिति र देश अनुसारको हाँसो, रोदन मिश्रित विदाइका दृश्य प्रशस्त थिए । मैले देश सम्झिए, लाग्यो कि, अहिलेसम्म देशमै केही गर्न सकिन्छ भन्ने सोचले नबिदेसिएको म, कुनै दिन यही बाटो पो अङ्गाल्नुपर्छ कि ? झस्किए म ….थप ५/७ मिनेटको दृश्य निहालेर फर्किए निवास ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १० : २६ बजे