१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

दुप्चेश्वरमा ‘समुन्द्रफिनी धान’विशेष छलफल, संरक्षण, प्रवर्द्धन र बजारीकरणमा जोड


१० चैत्र २०८०, शनिबार  

108
Shares

नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिका ६ गगनचौरमा ‘समुन्द्रफिनी धान’संरक्षण, प्रवर्द्धन र बजारीकरण विषयक छलफल सम्पन्न गरिएको छ । 

चैत्र ५ गते सोमबार स्याङतान कृषि फार्मको आयोजनामा भएको छलफल कार्यक्रमका लागि दुप्चेश्वर गाउँपालिका, रैथाने एग्री प्रडक्टस् प्रा.लि., राष्ट्रिय जिन बैँक र आधार विकास नेपालले सहकार्य गरेका थिए । नुवाकोटको गगनचौर र शिखरवेशी क्षेत्रमा मात्रै लगाइने ‘समुन्द्रफिनी धान’को रैथाने बिउ संरक्षण, व्यावसायिक उत्पादन र सहज बजारीकरणका लागि पहिलो पटक सरोकारवालाबिच छलफल भएको हो ।

छलफलमा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शङ्कर बहादुर थापाले दुप्चेश्वरको पहिचान बोकेको समुन्द्रफिनी धानलाई आफ्नो सम्पत्ति बनाउन पालिका तयार रहेको बताए । उनले भने, ‘समुन्द्रफिनी धान मात्रै हैन, यहाँको सिस्नो, ठोट्ने, ध्यू आलु, निगुरो लगायतका खानेकुरा विशेष रूपमा उत्पादन हुने गर्दछ । यी खाद्यवस्तुलाई दुप्चेश्वरको पहिचान र आयआर्जनका लागि पनि दुप्चेश्वर मन्दिर अघि कोसेली घर निर्माणको चरणमा रहेको छ । यसलाई पूर्णता दिएर अघि बढ्छौँ ।’

राष्ट्रिय जिन बैंकका सिनियर साईनटिस्ट डा.बालकृष्ण जोशीले भने, ‘‘समुन्द्रफिनी धान’को चामल जुन प्रकारको नरमपना छ, यो नै यसको विशेषता हो । हाम्रो भान्सामा हाम्रै उत्पादनले शासन गरोस् भन्ने हो । तर अहिले त विदेशी उत्पादनले शासन गरिराखेको छ ।’ डा.जोशीले समुन्द्रफिनीको रैथानेपन निक्यौल, भौगोलिक सङ्केत प्रमाणीकरण स्थानीय पालिकाले गर्नुपर्ने सुझाए । त्यसको लागि राष्ट्रिय जिन बैँकले सहजीकरण गर्ने उनले बताए ।

दुप्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश रिजालले स्थानीय उत्पादन र प्रोत्साहनलाई ध्यान दिन होमस्टे कार्यविधि छिट्टै पास गर्ने क्रममा रहेको जानकारी गराए । उनले समुन्द्रफिनी धानको प्याटन दर्ताको विषय पनि छलफलमा उठेको र चालु आर्थिक वर्षमा समुन्द्रफिनी धानको संरक्षणका लागि कार्यक्रम नै राखेको बताए ।

रैथाने एग्री प्रडक्ट्स नेपालका अध्यक्ष तिलक ढकालले ‘समुन्द्रफिनी धान’को महत्त्व स्थानीयले बुझ्न नसकेको बताए । ‘बरु लोक सेवा आयोगको प्रश्नमा ‘समुन्द्रफिनी धान’ कहाँ फल्छ ? भनेर सोध्छ । राज्यलाई थाहा भएको कुरा स्थानीयलाई थाहा नहुनु वा संरक्षणमा ध्यान नदिनु भनेको त कस्तुरीको वास्नाको कथा जस्तो पो भयो ।’उनले भने, ‘‘समुन्द्रफिनी धान’को संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारले अगुवाइ गर्नुपर्छ । बजारीकरणमा रैथाने एग्री प्रडक्ट्सले कस्तो भूमिका निर्वाह गर्नुपर्छ हामी तयार छौँ ।’

होमस्टे महासङ्घ पूर्व अध्यक्ष तथा पर्यटन विज्ञ भीम बहादुर केसीले रैथाने उत्पादन र होमस्टे एक अर्काका परिपूरक भएकाले त्यसतर्फ स्थानीयको ध्यानाकर्षण हुनुपर्ने बताए । उनले भने, ‘दुप्चेश्वरमा अब होमस्टेको विकास गर्नुपर्ने समय आएको महसुस गरे । दुप्चेश्वर दर्शन गर्न आउनेहरूका लागि एक रात यही बसेर रैथाने खानेकुरा खान्छु । बिहानै दुप्चेश्वर दर्शन गर्छु भन्नेलाई होमस्टे उपयुक्त हुन्छ । जसले स्थानीय उत्पादन र स्थानीयलाई माथि उठान प्रत्यक्ष भूमिका खेल्छ ।’

त्यस्तै, दुप्चेश्वर गाउँपालिकाका कृषि शाखा प्रमुख सुदेस सुवेदीले अघिल्ला वर्षमा कार्यक्रम कार्यान्वयन नहुने समस्या रहे पनि यो वर्ष देखि त्यो समस्या नदोहो¥याउने प्रतिबद्धतासहित काम गर्दै आएको बताए । उनले भने, ‘दुप्चेश्वरेको कडेँनी, जहाँ ध्यू आलु हुन्छ, सो ठाउँमा आर्थिक वर्ष २०७९/८० मा १२० रोपनी क्षेत्रफलमा सिँचाइको व्यवस्थापन ग¥यौँ । यो पटक ‘समुन्द्रफिनी धान’ प्रवर्द्धन कार्यक्रम राखेका छौँ ।’ उनले उत्पादन कम भए पनि बजार मूल्यका कारण अन्य धानलाई भन्दा ‘समुन्द्रफिनी धान’ले जित्ने विषय कृषकलाई बुझाउन सके उत्पादनमा वृद्धि ल्याउन सक्ने सम्भावना जीवितै रहेको बताए ।

पूर्व शिक्षक तथा स्थानीय कृषक जनार्दन प्रसाद आचार्यले अर्ग्यानिक रैथाने उत्पादन र उपयोगमा ध्यान नदिँदा विभिन्न रोगको सिकार बन्नु परेको दृष्टान्त पेस गरे । दुप्चेश्वर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष अन्जु आचार्यले किसानले उत्पादन र बजारीकरणको चिन्ताले पनि रैथाने उत्पादनलाई प्राथमिकता दिन नसकेको यर्थाथलाई स्थानीय सरकारले बुझेर सोही अनुसारको कदम चाल्नु पर्नेमा जोड दिइन् । 

स्याङतान कृषि फर्मका सञ्चालक कृष्ण स्याङतान (सिस्नो स्याङतान)ले भविष्यमा दुप्चेश्वरको गगनचौर र शिखरवेशीलाई समुन्द्रफिनी कृषि जोनकै रूपमा घोषणा गरेर प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न सके रैथाने धानको अपेक्षाकृत संरक्षण र सवर्द्धन गर्न सकिनेमा जोड दिए । समुन्द्रफिनी धान अभियन्ता तथा छलफल कार्यक्रमका अध्यक्ष शिव प्रसाद आचार्यले रैथाने उत्पादन हराए पहिचान र स्वास्थ्य दुवै हराउने भएकाले संरक्षण आवश्यक रहेको बताए ।

छलफल कार्यक्रममा दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष माकुरी तामाङ, दुप्चेश्वर ६ का वडाध्यक्ष किशोर आचार्य, कृषि विज्ञ ध्रुवराज पौडेल, पोषण विज्ञ युवराज श्रेष्ठ, रैथाने एग्री प्रडक्टस्का सचिव राई बहादुर राई, रैथानेका सञ्चालक शङ्कर बहादुर गौतम लगायत विभिन्न राजनीतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ८ : ५२ बजे