१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

घ्याङफेदीमा रैथाने कृषि संरक्षण, प्रवर्द्धन र बजारीकरण विषयक छलफल


११ चैत्र २०८०, आइतबार  

142
Shares

नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीमा ‘रैथाने कृषि संरक्षण, प्रवर्द्धन र बजारीकरण’ विषयक छलफल सम्पन्न गरिएको छ ।

चैत्र ६ गते मंगलबार स्याङतान कृषि फार्मको आयोजनामा भएको छलफल कार्यक्रमका लागि दुप्चेश्वर गाउँपालिका, रैथाने एग्री प्रडक्टस् प्रा.लि, राष्ट्रिय जिन बैँक र आधार विकास नेपालले सहकार्य गरेका थिए ।

छलफलमा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर बहादुर थापाले विकासे बालीलाई त्यागेर रैथाने बालीलाई आत्मसाथ गर्न आग्रह गरे । उनले भने, ‘एग्रो टुरिजमको अवधारणा दुप्चेश्वर गाउँपालिकाले अबलम्बन गरेको छ । पहिले आत्मनिर्भर बनौ । बढि भएको खानेकुरा बेचौँ । आयआर्जन गरौँ ।’

दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष माकुरी तामाङले पालिकाले कृषि उत्पादन बजारसम्म ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन र हाट बजारको अवधारणालाई अघि सारिएको बताइन् ।

राष्ट्रिय जिन बैंकका सिनियर साईनटिस्ट डा.बालकृष्ण जोशीले रैथाने बालीको प्रमाणीकरणमा ध्यान दिन सके उपभोक्तामा शंका नरहने र बजार विस्तारमा सहज हुने बताए ।

रैथाने एग्री प्रडक्ट्स नेपालका अध्यक्ष तिलक ढकालले रैथाने उत्पादन विक्रि गरेर आयातित उत्पादन खरिद गर्नुले उत्पादनको कुनै अर्थ नरहने बताए । उनले भने, ‘रैथाने उत्पादन पहिले आफूले उपभोग गर्नु, बढि भएको मात्रै बजार पठाउनु । त्यो बल्ल उत्पादनको अर्थ हुन्छ ।’

स्याङतान कृषि फर्मका सञ्चालक कृष्ण स्याङतानले आफूले रैथाने उत्पादन र बजारीकरणका लागि समन्वय र मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने बताए । समुन्द्रफिनी धान अभियन्ता शिव प्रसाद आचार्यले गीति कविता वाचन गरेका थिए ।

छलफल कार्यक्रममा होमस्टे महासंघ पुर्व अध्यक्ष तथा पर्यटन विज्ञ भिम बहादुर केसी, कृषि विज्ञ ध्रुवराज पौडेल, पोषण विज्ञ युवराज श्रेष्ठ, रैथाने एग्री प्रडक्टस्का सचिव राई बहादुर राई, रैथानेका सञ्चालक शंकर बहादुर गौतम, आधार विकास नेपालका पासाङ शेर्पा, घ्याङफेदी माध्यमिक विद्यालयका सहायक प्रध्यानाध्यापक प्रेम बहादुर स्याङतान लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

घ्याङफेदीमा उत्पादन हुने सिस्नो, ध्यू आलु र मह दरबारमार्गमा लाग्ने रैथाने हाट बजारमा विक्रि हुँदै आएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १२ : १५ बजे