१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

कृषिलाई प्राथमिकता दिएको माप्यले गुरुयोजना निर्माण गर्दै



सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले युवालाई गाउँमै टिकाउने वातावरण सिर्जना गर्ने बताएका छन् । दिर्घकालिन कृषि गुरु योजना रणनिती निर्माण गर्ने सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले बरोजगारीको समस्या समाधान गरि विदेशिने युवाहरुलाई नेपालमै टिकाउने वातावरण सिर्जना गर्ने बताएका हुन् । जसका लागि आफुहरुले कृषिमा जोड दिने उनको भनाई छ ।

उनले भने, “कृषि नै समृद्धिको मुल आधार हो, कृषिलाई नै आधुनिकिकरण र व्यवसायिकरण गरि स्वरोजगारी सिर्जना गर्न सकिन्छ जसका लागि हामी लागि परेका छौ ।” गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्यका साथ दिर्घकालिन कृषि गुरु योजना रणनिती निर्माण गर्ने सम्बन्धी अन्तरक्रिया गरिएको हो । गाउँपालिकाको आयोजना तथा नेपाल फार्मर्स एड्भाईजरी काउन्सिल प्राली काठमाण्डौको प्राविधिक सहयोगमा आज (बुधबार) बाट १० वर्षे दीर्घकालिन कृषि गुरु योजना सुरु भएको छ ।

जसका लागि गाउँपालिकाको सभाहलमा आज अन्तरक्रिया गरिएको हो । कार्यक्रममा नेपाल फार्मर्स काउन्सिलका अध्यक्ष डा. योगेन्द्र कार्कीको पनि उपस्थिती रहेको थियो । सोही अवसरमा बोल्दै उनले कृषि सुहाउदो माप्यको भुगोल रहेकाले भौगोलिक्ताका आधारमा खेति गर्न सुझाव दिएका छन् ।

गाउँपालिकाको माटो समेत परिक्षण भईरहेका उनले बताए । गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष गौरव राई, कृषि विज्ञ, गाउँपालिकाका कर्मचारी, वडाअध्यक्ष, शिक्षक लगायत ७ वटै वडाका कृषकहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ९ : १८ बजे