१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

मञ्जुश्री ट्रेल रेसमा अर्जुन कुलुङ बने विजेता



काठमाडौँ । खेल पर्यटनलाई प्रवर्द्धन गर्दै नेपालकै लामो ट्रेल रेस प्रतियोगिता मञ्जुश्री ट्रेल रेस अन्तर्गतको चौथो संस्करणको सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघिको आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ राई विजेता बनेका छन् ।

उनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा रेस पूरा गर्दै उपाधि जित्न सफल भए । यससँगै कुलुङले सन् २०२२ मा ३१ घण्टा १० मिनेट ५७ सेकेण्डको आफ्नै रेकर्ड तोडेका हुन् ।

यस्तै बेलायतका अलिस्टेयर मेस्सनले २८ घण्टा २८ मिनेट ३५ सेकेण्डमा रेस पूरा गरी उपविजेता बन्दा ३३ घण्टा ५७ मिनेट ४० सेकेन्डमा रेस पूरा गर्दै विजय मगर तेस्रो भएका छन् ।

सय किलोमिटर रेस १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै पुरुषतर्फ मनकुमार रोका मगर विजेता बने ।

यस्तै १६ घण्टा ४६ मिनेट ४८ सेकेन्डमा रेस पूरा गरेर फुर्पासिंह तामाङ दोस्रो र १६ घण्टा ५४ मिनेट १७ सेकेन्डमा रेस पूरा गरेर अविनाश देवकोटा तेस्रो भए । ५० किलोमिटर रेस ७ घण्टा १७ मिनेट २५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ ८ घण्टा २२ मिनेट ५ सेकेन्डमा पार गर्दै प्रिया राई विजेता बने ।

यस रेसमा पुरुषतर्फ निम्साङ लिम्बु र महिलातर्फ रसिला तामाङ क्रमशः ७ घण्टा १८ मिनेट ११ सेकेन्डमा र ९ घण्टा १३ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर दोस्रो भएका छन् ।

यस्तै पुरुषतर्फ दिपेश तामाङ र महिलातर्फ छोकी शेर्पाले क्रमशः ८ घण्टा ४ मिनेट ३६ सेकेन्डमा र ९ घण्टा १६ मिनेट ४५ सेकेन्डमा रेस पूरा गरेर तेस्रो भए ।

यस संस्करणमा १०० माइल, १०० किमि र ५० किमिका खेलको पाँचौँ स्थानभित्र आउने खेलाडी स्वतः एसिया ट्रेल मास्टर्समा क्वालिफाइ भएको समेत अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल रेसमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै ३० किलोमिटर रेस ४ घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने । यस्तै ४ घण्टा ५७ मिनेट २९ सेकेन्डमा रेस पूरा गरेर लुकास सेर्डन उपविजेता बन्दा ४ घण्टा ५७ मिनेट ४५ सेकेन्डमा रेस सम्पन्न गरेर एण्ड्रियु एलकक तेस्रो भएका छन् ।

यस्तै महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले ६ घन्टा ४५ मिनेट २१ सेकेण्डमा रेस पूरा गर्दै महिलातर्फको ३० किलोमिटर रेसको विजेता बनेका छन् ।

बेलायतकी जेन्नी चाप्लिनले ७ घण्टा १९ मिनेट ४८ सेकेण्डमा ३० किमि रेस पूरा गरेर उपविजेता बन्दा अमेरिकाकी एरिका मिक्सले ७ घण्टा २० मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो बनिन् ।

१० किलोमिटर रेस एक घण्टा २ मिनेट ५ सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए । यस्तै १ घण्टा २ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर रेम बुढामगर दोस्रो हुँदा १ घण्टा २ मिनेट ८ सेकेन्डमा रेस पूरा गरेर प्रविन लिम्बु तेस्रो भएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : ४४ बजे