१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

थुलुङ दुधकोशीबाटै नक्सा प्रिन्ट, फिल्डबुक उतार लगायतको सेवा प्रवाह हुने


२७ चैत्र २०८०, मंगलबार  

38
Shares

सोलुखुम्बु । जिल्लामै पहिलोपटक थुलुङ दुधकोशी गाउँपालिकामा मेरो कित्ता अनलाइन प्रणाली सुरु भएको छ । मंगलबार गाउँपालिकामा एक कार्यक्रमका बीच उक्त सेवा सुरु भएको हो ।

जिल्लाको ८ स्थानीय तह मध्य मेरो कित्ता अनलाइन प्रणाली सुरु गरि सेवा प्रवाह गर्ने थुलुङ दुधकोशी गाउँपालिका पहिलो स्थानीय तह बनेको छ । अब देखि नापी कार्यालयबाट प्राप्त गर्ने सेवा नक्सा प्रिन्ट, फिल्ड बुक उतार लगायतको काम अब गाउँपालिकाबाटै हुने भएको छ ।

यस अघि नक्सा प्रिन्ट गर्नको लागि नापी कार्यालय सल्लेरी नै पुग्नुपर्ने बाध्यता थियो । अबदेखि थुलुङ दुधकोशी गाउँपालिकाको कार्यालय मुक्लीबाटै ती सेवाहरु प्राप्त गर्न सकिने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।

नापी कार्यालय सोलुखुम्बुका प्रमुख प्रमोद गरागाईले उक्त सेवा सन्चालनको लागि आवश्यक युजर र पासवर्ड गाउँपालिका अध्यक्ष असिम राईलाई हस्तान्तरण गरे । पालिका अध्यक्ष असिम राईले नागरिकलाई सहज रुपमा सेवा प्रवाहको लागि गाउँपालिकाले अथक प्रयास गरिरहेको बताए।

आफ्ना पालिकाको नागरिकलाई सहज ढंगले सेवा उपलब्ध गराउने सबालमा सबैपक्ष संग समन्वय गरी काम गरिरहेको भन्दै अध्यक्ष राईले एक सय राजश्व तिरेर प्राप्त हुने नक्सा प्रिन्टको लागी हजारौ खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

अब देखी गाउँपालिकाबाट नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिष्टर प्रिन्ट लगायतको सेवा कार्यालयबाटै प्राप्त हुने छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ९ : २६ बजे