१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

देउसाली चेली सुविद्यालाई गीत गाउने अवसर



सोलुखुम्बु । जब सोलुखुम्बु देउसाकी चेली सुविद्या राईले स्टेज चढेर ‘आकाशैमा चिल हो कि बेसार’ गाइन् । तब उनलाई मिल्यो गीत गाउने अवसर ।

प्रसङ्ग हो नयाँ वर्षको, २०८१ वैशाख १ गते सोलुखुम्बुको सल्लेरी स्थित सोलुखुम्बु होमस्टेमा एक साङ्गीतिक साँझको आयोजना गरिएको थियो । सोलुखुम्बु होम स्टे, सोलुदुधकुण्ड युथ क्लब र सानदार मिडियाको आयोजनामा भएको कार्यक्रममा गायिका बविना किराँती, गायक प्रियजन राई, दुर्लभ जन्तरे, पेम्बा छिरिङ पाख्रिन, कलाकार सुम्निमा खालिङ लगायतको प्रस्तुति सकिएको थियो । हावा र सिमसिम पानीको बाबजुद पनि कार्यक्रमको अन्यतिर स्टेजमा उक्लिएकी सोलुखुम्बु देउसाकी सुविद्या राईले ‘आकाशैमा चिल हो कि बेसार’ गाइन् । उनको त्यो गायकीले अग्रज कलाकारको मन छोयो । ‘आकाशैमा चिल हो कि बेसार’कि फिमेल गायिका बविना किराँती समेत सुविद्याको गायकीले प्रभावित भइन् । उनले स्टेजमै पुगेर धाप मार्दै हौसला प्रदान गरिन् ।

गायक प्रियजन राई र गीतकार तथा निर्देशक दुर्लभ जन्तरेले सुविद्याको स्वर सुहाउँदो एउटा एउटा गीत गाउने अवसर प्रदान गर्ने घोषणा गरे ।

कार्यक्रममा बविना किराँतीले ‘माथिमाथि हिमाली भेगमा’, ‘बेचिदिन्थे यो जवानी’, ‘पानी धाराको’, ‘आएन चाइनाको रेल’, ‘अध्याँरो औँशीको रात’ ‘आकाशैमा चिल हो कि बेसार’ लगायतका गीत गाउँदा दर्शकको राम्रो साथ मिलेको थियो ।

त्यस्तै, गायक प्रियजन राईले ‘सोलु सल्लेरी’, ‘पानी मिठो यारी खोलाको’ लगायतका गीत गाएर सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा लगायतका अतिथिलाई छमछमी नचाए । गायक दुर्लभ जन्तरेले ‘बनमारा फुलेर’, ‘झ्याम्मै चौतारी’गाउँदा गायक पेम्बाछिरिङ पाख्रिनले ‘यो मन त मेरो नेपाली हो’, ‘टुङ्नाको धुनमा’ लगायतका गीत गाएर दर्शक नचाए । कलाकार सुम्निमाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारले समेत आ–आफ्नो प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ८ : १५ बजे