१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

खुम्जुङमा मेडिकल क्याम्प, २५० जना लाभान्वित


१० बैशाख २०८१, सोमबार  

158
Shares

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ४ खुम्जुङमा सञ्चालित ‘एभरेष्ट सोरिज एड मेडिकल क्याम्प’बाट खुम्बुका २५० जना लाभान्वित भएका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष टासी ल्हमु शेर्पाको अध्यक्षतामा सुरु भएको मेडिकल क्याम्पमा आम्जीको परीक्षण, विभिन्न थेरापीका साथै औषधि वितरण गरिएको थियो । क्याम्पमा सिंगापुर, रसिया, जर्मनी, वेल्स, मलेसिया, मेक्सिको, चिली, स्विजरल्याण्डका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएको पत्रकार झलक राईले जानकारी दिए ।

सोरिज एड र हिमालयन रेसको आयोजना तथा लिटिल एलो फ्लोअरको आर्थिक सहयोग तथा पालिका र वडाको समन्वयमा मेडिकल क्याम्प सञ्चालन गरिएका वडा नं ४ खुन्जुङका कार्यबाहक अध्यक्ष ङिमा याङ्जीन शेर्पाले जानकारी दिए । हिमाली भेगका बालबालिका, जेष्ठ नागरिकको स्वास्थ्य उपचार र चेतनाप्रवाहका लागि मेडिकल क्याम्पको आयोजना गरिएको हिमालयन रेस अर्गनाइजेसनका टासी शेर्पाले बताए ।

संस्थाले ७ बर्ष देखि खुम्बु पासाङल्यामु गाउँपालिकाको खुन्जुङ, खुन्दे, सोलुदुधकुण्ड नगरपालिकाको जुनबेशी, लिखुपिके गाउँपालिकाको गोली, भकाजेसहित सोलुखुम्बुको विभिन्न गुम्बालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । क्याम्पमा साम्तेन छोलिङ गुम्बा प्रतिनिधि मिङ्मा नुरु शेर्पा, कुनफेल औषधालयका डाक्टर ङिमा छिरिङ नेपाली, खुम्जुङ युवा क्लब अध्यक्ष दावा छिरिङ शेर्पा, हिमालयन रेसका गाइड पासाङ् शेर्पाको लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ९ : ४२ बजे