१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

एभरेष्ट भ्यु ट्रेल म्याराथनको तयारी पुरा, पहिलो हुनेले एक लाख जित्ने


११ बैशाख २०८१, मंगलबार  

26
Shares

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाले आयोजना गरेको एभरेष्ट भ्यु ट्रेल म्याराथनको सम्पूर्ण तयारी पुरा भएको छ । गाउँपालिकाले प्रथम पटक आयोजना गर्न लागेको यस म्याराथनको तयारी पुरा भएको पालिका अध्यक्ष बुद्दिकिरण राईले बताए ।

पर्यटन प्रवद्र्धन लागि आयोजित यस म्याराथनमा देश तथा बिदेशका करिब १ सय ५० धावकहरूले भाग लिने छन् । म्याराथन बुधबार बिहान ६ बजेबाट शुरु हुनेछ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको रंगशालाबाट सुरु हुने ट्रेल म्याराथन वडा नम्बर ५ को सिलगुडी डाँडा, घुम्नेमेरा, कुधुम हाईक्याम्प तथा मिडक्याम्प हुदै गाउँपालिकाले निर्माण गरेको योतेल्म्या पर्यटन सेल्टर हुदै फेरी रंगशाला नै आईपुगेर सकिनेछ ।

यो म्याराथनको कुल लम्बाई ४७ किलोमिटर रहेको छ । म्याराथनमा प्रथम हुनेले नगद एक लाख र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्धितीय र तृतीय हुनेले क्रमश : ७५ हजार र ५० हजारको साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

धावकको प्रोत्साहनका लागि उमेर समूहका आधारमा १८ देखि २९ वर्ष, ३० देखि ४९ वर्ष र ५० देखि ६५ वर्षसम्मका शिर्ष ३ प्रतिस्प्रर्धीलाई समान पुरस्कार २० हजार, १५ हजार र १० हजार नगदको साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
पुरस्कार महिला–पुरुष म्याराथनका विजेता धावकलाई समान तोकिएको छ । म्याराथनमा सहभागी बन्न अन्तरराष्ट्रिय धावक मिरा राई, अर्जुन राईसहितको टोली माप्य दुधकोशी पुगिसकेको छ ।

सोमबार म्याराथनको लोगो अकिंत टि–सर्ट वितरण गरिएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : ०७ बजे