१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

नेचासल्यान शिक्षक सरुवा : उपाध्यक्ष सहित बहुमत कार्यपालिका सदस्य विपक्षमा


१६ बैशाख २०८१, आइतबार  

314
Shares

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको शिक्षा समितिले ठूलो संख्यामा गरेको शिक्षक सरुवाको चौतर्फि विरोध भईरहेका बेला गाउँपालिका उपाध्यक्ष सहित बहुमत कार्यपालिका सदस्य सरुवाको विपक्षमा उभिएका छन् ।

गाउँपालिका उपाध्यक्ष विना राईको नेतृत्वमा एक प्रेस विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष सहितका बहुमत कार्यपालिका सदस्यले एकलौटि ढंगले गरिएको शिक्षक सरुवाको विरोध गरेका हुन् । शिक्षकको अन्धाधुन्ध सरुवा गरेर मात्रै शैक्षिक गुणस्तर अभिभबृद्धि नहुने भन्दै भईरहेको संम्रचनालाई भताभुङ्ग पारेर शिक्षालाई अध्यारो तिर धकेल्ने प्रयास भएको ठहर उनीहरुको छ ।

शिक्षक सरुवाजस्तो दुरगामी महत्वको विषयमा सबै सरोकारवालाहरु विचमा गम्भिर छलफल र विमर्श मार्फत गरिनु पर्नेमा पालिकाका जिम्मेवार पदाधिकारीहलाई नै गुपचुपमा राखेर निश्चित स्वार्थ समुहको घेरा बन्दिमा समितिमा निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उपाध्यक्ष सहित २ वटा वडा अध्यक्ष र ४ जना कार्यपालिका सदस्यले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा पुर्वाग्रहीपूर्ण रुपमा पालिका उपाध्यक्ष र वडा अध्यक्षलाई शिक्षा समितिमै नसमेट्नु तथा शिक्षाको वैठकमा सहभागी नगराइनु खेद जनक रहेको भन्दै तत्काल शिक्षा समितिमा समेट्न माग गरिएको छ ।

शिक्षक सरुवाको विपक्षमा उभिनेमा वडा नम्बर ५ का अध्यक्ष राजनकुमार राई, वडा नम्बर ३ का अध्यक्ष सिताराम भट्टराई, कार्यपालिका सदस्यहरु जयन्ता अधिकारी, दिल परियार, रुपा नेवार र ज्ञानु दाहाल रहेका छन् ।

१३ सदस्यीय गाउँ कार्यपालिका रहेको नेचासल्यानमा शिक्षा समितिको निर्णयको विपक्षमा बहुमत अर्थात ७ जना पदाधिकारी र सदस्य एक ठाउँमा उभिएर लिखित विरोध जनाएका छन् ।

उनीहरुले पालिकाको नेतृत्वले सबै सरोकारवालाहरुको सहमतिमा मापदण्ड बनाएर शिक्षक सरुवा गर्नु पर्नेमा पालिकाकै पदाधिकारीलाई गुपचुपमा राखेर अन्धाधुन्ध शिक्षक सरुवा गरेर शिक्षाको गुणस्तरमा नै प्राहार गरेको निष्कर्ष निकालेका छन् ।

उपाध्यक्ष नेतृत्को विज्ञप्तिमा पालिकामा भएका राम्रो निर्णय कार्यान्वयनमा सहयोग गर्ने तथा गलत निर्णयको सधैँ विरोध गर्ने उल्लेख छ । कार्यपालिकाकै बहुमत सदस्य विपक्षमा उभिए पछि शिक्षक सरुवाको निर्णय पेचिलो बन्ने देखिएको छ ।

केही दिन अघि पालिकाका सबै माविका अधिकांश प्रधानाध्यापक सहित दर्जनौ शिक्षकको सरुवा गरिएको सूचि सामाजिक संजालमा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : २७ बजे