१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

पञ्चनका अग्नी पीडितलाई पालिकाको राहत, नगद सहित सामाग्री वितरण


२१ बैशाख २०८१, शुक्रबार  

8
Shares

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चनका अग्नी पीडितलाई पालिकाले नगद सहित राहत सामाग्री प्रदान गरेको छ । जंगलमा लागेको आगो गाउँ पस्दा बुधबार ९ घर जलेको थियो ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार आगोले मानिस बस्दै आएको तीनवटा घर र मानिस नबस्ने सात घर जलेर पुर्णरुपमा नष्ट गरेको हो। यस्तै गाईगोठ र बाख्राको खोर जेलेको छ भने केही चौपाय समेत जलेर घाइते भएका छन् ।

विहीबार गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा जुम मार्फत बसेको कार्यपालिका बैठकको निर्णय अनुसार तीनघर परिवारलाई प्रति परिवार ५० हजार नगद सहित जस्तापाता, खाद्यान्न, लत्ताकपडा सहितको प्याकेजमा राहत प्रदान गरिएको छ भने अन्य सात घर परिवारलाई प्रति परिवार २५ हजार नगद राहत प्रदान गरिएको छ ।

तीन घर परिवारलाई बासको समेत समस्या भएकाले बिहिबार नै जस्तापाता सहित अन्य आवश्यक सामाग्री हस्तान्तरण गरिने पालिकाले जनाएको छ ।

यसैबीच, आगलागी पीडितलाई एकद्धार प्रणालीमार्फत राहत प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ । जसको लागी संबन्धित वडाका वडा अध्यक्ष इन्द्रमणी दाहालको संयोजकत्वमा तीन सदस्य राहत वितरण तथा समन्वय समिति गठन गरिएको छ । जसको सदस्यमा वडा नम्बर दुईका वडा अध्यक्ष तथा विपद् व्यवस्थापन समिति संयोगक युजन बस्नेत र वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की सदस्य रहने बताइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : ०२ बजे