१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

राष्ट्रिय मातृभूमि पार्टीले भन्यो ‘राज्यमा नैतिकताको खडेरी देखियो’



काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले राजनीतिक इमानदारी तथा नैतिक धरातलमा खडेरी देखिएको जनाएको छ ।

महासचिव गोविन्द गिरीले विज्ञप्ती जारी गर्दै पीडित नागरिक तथा आम जनताले नैतिकताको प्रश्न उठाउँदा र विरोध गर्दा समेत राज्यका महत्वपूर्ण पदाधिकारीहरुले असंवेदनशील भई कर्तव्यविमुख हुनु राजनीतिक लापरबाही तथा बेइमानीको पराकाष्ठा भएको बताएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘विगत समयमा आफ्नो असक्षमता वा आचरण सम्बन्धी प्रश्न उठ्दा प्रधानमन्त्री लगायत मन्त्रीपरिषद्का सदस्यले आफू पदीय जिम्मेवारीबाट अलग रही सम्बन्धित निकायलाई स्वतन्त्र र निष्पक्ष अनुसन्धानको लागि मार्ग प्रशस्त गरेको दृष्टान्त नेपालमा समेत रहेको छ । तर हालका बहालवाला मन्त्री तथा जनप्रतिनिधिहरुले समेत सहकारीको रकम गैरकानुनी तबरले प्रयोग गरेको पीडित तथा आम जनताबाट प्रश्न उठाउँदा मन्त्री जस्तो पदमा टिकिरहने र टिकाउने मनशाय राखी अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न अनिच्छुक रहनुले राजनीतिक इमानदारी तथा नैतिक धरातलमा खडेरी आएको स्पष्ट हुन्छ ।’

व्यक्तिगत हित र पदीय जिम्मेवारी बिचको यो द्वन्द्वबाट सार्वजनिक क्षेत्रको कुशल संचालन व्यवस्था र प्रक्रिया प्रभावित हुन नदिन सार्वजनिक पदाधिकारीहरुले नैतिकता र आचरणको जिम्मेवारी लिनु पर्नेमा त्यसो नहुनु समग्र नेपालीको लागि चिन्ताको विषय समेत भएको प्रष्ट पारिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : १८ बजे