१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

थुलुङ दुधकोशी बहु प्राविधिक शिक्षालयबाट ३४ इन्जिनियर पास आउट



सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोसी बहु प्राविधिक शिक्षालयबाट पहिलो पटक ३४ जना इन्जिनियर पास आउट भएका छन् । यो सँगै गाउँमै इन्जिनियर उत्पादन गर्ने स्थानीय सरकारको सपना पूरा भएको छ ।

२०७७ सालबाट गाउँमा बहु प्राविधिक शिक्षालय सुरु गरेका थिए, जहाँ सिभिल इन्जिनियरीङका लागि ३५ जना विद्यार्थीहरू भर्ना भएका थिए । सिटिइभिटी सानोठिमीले सार्वजनिक गरेको नतिजा अनुसार यहाँका ३४ जना विद्यार्थी अर्थात् ९७ प्रतिशत विद्यार्थीले छैटौँ सेमेस्टर समेत उत्कृष्ट नतिजा सहित उत्तीर्ण गरेका छन् ।

कोसी प्रदेशमै पहिलो पटक स्थानीय तहले सञ्चालन गरेको शिक्षालयबाट अबदेखि वर्षेनी सिभिल इन्जिनियरहरू उत्पादन भइरहनेछन् ।

थुलुङ दुधकोशी गाउँपालिकाले आफ्नै सक्रियतामा सञ्चालन गरेको यस क्याम्पसमा विपन्न जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी, प्रवेश परीक्षामा प्रथम हुने विद्यार्थीलाई प्रथम सेमेस्टर शुल्क छुट दिइँदै आएको छ । प्रत्येक सेमेस्टरको अन्तिम परीक्षामा प्रथम हुने विद्यार्थीलाई सेमेस्टर शुल्क छुट समेत दिई सम्भवतः मुलुककै न्यून शुल्कमा अध्ययन गरी इन्जिनियरिङ पुरा गरेका छन् । पुरै ६ वर्ष कोर्स पुरा गर्दा विद्यार्थीले जम्मा १ लाख ८० हजार शुल्क तिरेका छन् । सहरी क्षेत्रमा यही नतिजाका लागि विद्यार्थी ६ देखि ८ लाख रुपैयाँसम्म खर्च गनुपर्ने हुन्छ । 

गाउँपालिका अध्यक्ष असीम राईले स्ट्याटस लेख्दै गरिब किसानको छोराछोरी आफनै आँखा अगाडि बसेर न्यून शुल्कमा कलेज पढेर आज इन्जिनियर बन्न सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ९ : ३४ बजे