१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

थुलुङ दुधकोशीले फार्मेसी र एचए कक्षा पनि संचालन गर्ने


२५ बैशाख २०८१, मंगलबार  

128
Shares

सोलुखुम्बु । सोमबार मात्रै ३४ जना सिभिल इन्जिनियर पास आउट गरेको  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले डिप्लोमा इन फार्मेसी र प्रवीणता प्रमाणपत्र तह सामान्य चिकित्साशास्त्र (एचए) कक्षा संचालन गर्ने भएको छ ।

पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलवार बसेको थुलुङ दुधकोशी अस्पताल व्यवस्थापन समितीको बैठकले डिप्लोमा इन फार्मेसी र प्रवीणता प्रमाणपत्र तह सामान्य चिकित्साशास्त्र (एचए) कक्षा संचालन गर्ने निर्णय गरेको हो । कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार लगायतको CTEVT बाट स्थलगत अध्ययन गरि चिकित्सा सेवा आयोगलाई आसयपत्र समेत माग गरेको  पालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

त्यसको लागि पालिका प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष भोजराज कार्कीको संयोजकत्वमा ३ सदस्सीय समन्वय तथा सुझाव  समिति समेत गठन गरिएको छ । समितिमा उद्धव ढुंगाना र स्मिता विष्ट सदस्य रहेका छन् ।

सोही बैठकले पोष्टमार्टम गृह तथा प्लासेन्टपिट निर्माण गर्न आवश्यक तयारी गर्न समिति गठन गरिएको छ भने अस्पताललाई स्वास्थ्य विमा सेवाको लागि प्रथम सेवा विन्दु बनाउने लगायतका महत्वपूर्ण निर्णयहरु गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

मुक्लिमै पोष्टमार्टम सेवा सुरु हुने भएपछि  महङ्गो रकम खर्च गरेर मृत शरीर जिल्ला अस्पताल फाप्लु लैजानुपर्ने बाध्यता अन्त्य हुने छ । दुधकोशी पारिका जुबु लोखिमबाट पोष्टमार्टमका लागि ६० हजारसम्म खर्च गरेर मृत शरिर जिल्ला अस्पताल फाप्लुसम्म लैजाने गरेका छन ।

आर्थिक भार खेप्नुपर्ने बाध्यात्मक परिस्थितिलाई मुक्लिमै सञ्चालनमा आउने पोष्टमार्टम सेवाले चिर्ने पालिकाको विश्वास छ । गाउँपालिकाले २०७७ सालबाट थुलुङ दुधकोसी बहुप्राविधिक शिक्षालय सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ४ : ४९ बजे