१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

थुलुङ दुधकोशी अस्पतालमा शल्यक्रिया सेवा सुरु



सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले सोलुखुम्बुको मुक्लीमा सञ्चालन गरेको थुलुङ दुधकोशी अस्पतालमा शल्यक्रिया सेवा सुरु गरिएको छ ।

मंगलबार देखि जटिल शल्यक्रिया मार्फत प्रसुती गराएर सेवाको विधिवत सुरुवात गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । उनका अनुसार थुलुङ दुधकोशी गाउँपालिका– ७ कि रितुकला राईले शल्यक्रिया मार्फत छोरालाई जन्म दिएकी छिन् ।

एमडिजिपी डाक्टर अजय चौधरीको टिमले सफल शल्यक्रिया गरेको अस्पताल प्रशासनले जनाएको छ ।

पालिकामै शल्यक्रिया शिविर सुरु भएपछि जटिल प्रकृतिका बिरामीको रेफर गर्नुपर्ने र एम्बुलेन्स वा हेलिकप्टर चार्टर गरेर लाखौँ आर्थिक भार खेप्नुपर्ने बाध्यताको अन्त्य भएको पालिका अध्यक्ष असिम राईले बताए ।

उनले भने, ‘आज थुलुङ दुधकोशी अस्पताल नभएको भए रितुकला बहिनीलाई हेलिकप्टर मार्फत काठमाडौ लैजानु पथ्र्योे, तर गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स मार्फत देउसाको वर्थिङ सेन्टरबाट ल्याइ मुक्लिमै सञ्चालित अस्पतालमा सफल शल्यक्रिया भयो । यो सुखद समाचार हो ।’

पालिकाले पोष्टमार्टम गृह तथा प्लासेन्टपिट निर्माणको काम अघि बढाएको छ भने डिप्लोमा इन फार्मेसी र प्रवीणता प्रमाणपत्र तह सामान्य चिकित्साशास्त्र (एचए) कक्षा संचालन गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ५ : २४ बजे