सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका सभापति तथा सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पा नेतृत्वको टोली बाढी पीडित थामेबासीलाई राहत वितरण गरेर फर्केको छ ।
खुम्बु पासाङ ल्हामू गाउँपालिका ५ स्थित थामेका बाढि पीडितलाई राहत प्रदान गर्न २० लाख ९५ हजार राहत रकम वितरण गरिएको छ ।
मेयर शेर्पा, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई सहभागी टोलीले थामेका बाढीबाट पूर्ण क्षति व्यहोरेका २३ परिवारलाई ५५ हजारका दरले राहत प्रदान गरिएको हो । आंशिक क्षति व्यहोरेको १६ परिवारलाई ३५ हजारका दरले राहत प्रदान गरिएको मेयर शेर्पाले जानकारी दिए । त्यस्तै, उच्च जोखिमयुक्त १८ परिवारलाई १५ हजारका दरले राहत वितरण गरिएको छ ।
राहत वितरण पूर्व थामे, टोकटोक क्षेत्रको अनुगमन समेत गरिएको छ । सो क्रममा टोकटोकमा बाढीले ३ घरमा पूर्ण क्षति पुर्याएको र एक घर उच्च जोखिममा रहेको पाइएको मेयर शेर्पाको भनाई छ । उनले भने, टोकटोकका पीडित परिवारलाई नगरपालिकाले राहत रकम उपलब्ध गराउने छ ।
३२ साउनमा खुम्बुको थामेमा हिमपहिरो विस्फोट हुँदा गेग्रान र ढुंगा सहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, होटल, घरहरुमा क्षति भएको थियो । बाढी प्रभावित क्षेत्र थामेका अधिकांश भूभाग चिरा परेको छ । त्यसले अझ जोखिम बढाएको स्थलगत अनुगमन पछि मेयर शेर्पाले बताए ।