सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा दन्त सेवा सुरु भएको छ । दन्त सेवा सुरु भएसंगै जिल्लावासीलाई उपचारका लागि अन्यत्र जानु पर्ने बाध्यता पनि अन्त्य भएको छ ।
मङ्गलबार (आज) बाट अस्पतालमा दन्त सेवा सुरु भएको हो । एक कार्यक्रमका बीच समन्वय प्रमुख निरौला तथा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुका वडा अध्यक्ष युवास तामाङले संयुक्त रुपमा उद्घाटन गर्दै दन्त सेवा सुरु भएको घोषणा गरे ।
प्रदेश सरकार तथा अस्पताल विकास कोषको लागतमा अस्पतालमा दन्त विभाग स्थापना गरि सञ्चालनमा ल्याइएको अस्पतालका निमित्त प्रमुख डाक्टर प्रशान्त शाहले बताए । प्रदेश र अस्पतालको करिव १० लाख रुपैयाँ लागतमा मेसिन तथा औजार उपकरण खरिद गरि दन्त चिकित्सकको व्यवस्था सहित दन्त सेवा सुरु गरिएको उनको भनाई छ ।
उद्घाटन कार्यक्रममा समन्वय प्रमुख निरौलाले बिरुवा रोपेर मात्रै नहुने त्यसलाई मलजल समेत गर्नुपनि महत्वपूर्ण रहेको उदाहरण पेश गर्दै यसको सेवा विस्तार र प्रभावकारी सेवा प्रवाहमा पनि उत्तिकै ध्यान दिनुपर्ने उल्लेख गरे । उनले जिल्ला अस्पताललाई अभिभावकत्व प्रदान गर्ने, सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने कुरामा आफू र जिल्ला समन्वय समिति दृढ रहेको उल्लेख गरेका छन् ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुका वडा अध्यक्ष युवास तामाङले लामो समयदेखिको योजना पुरा भएको भन्दै खुसी व्यक्त गरे । उनले बिरामीले दाँतको सामान्य उपचारका लागी पनि काठमाण्डौ लगायतका अन्य ठाउँहरूमा खर्च गरेर जानुपर्ने बाध्यताको अन्त्य हुनु आफैमा राम्रो पक्ष रहेको बताए ।
दन्त सेवा उद्घाटन कार्यक्रममा अस्पतालका सूचना अधिकारी सानी शेर्पा लगायत अस्पतालका मेडिकल अधिकृत लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।