काठमाडौँ । सल्लेरीबाट लिखुपिके हुदैँ काठमाडौँसम्म सुमो गुड्न थालेपछि लिखुपिकेबासी खुसी देखिएका छन् । उनीहरुले सल्लेरी, काठमाडौँको आवतजावत सहज हुने प्रतिक्रिया दिएका छन् ।
गत असोज १० गतेको अविरल वर्षा र बाढिले विपी राजमार्ग बन्द भएपछि हिमाली जिल्ला सोलुखुम्बु देखि काठमाडौँ सडक यात्राका लागि नयाँ रुट सञ्चालनमा ल्याइएको हो ।
बुधबार सल्लेरी देखि टाक्टोर–लामाजुरा–किञ्जा–वाम्तीभण्डार जिरी हुदैँ काठमाडौँसम्मको रुटमा विभिन्न यातायात प्रा.लि.ले सल्लेरीबाट ८ वटा सुमो छुटाएका छन् ।
नयाँ रुट सञ्चालनमा आएपछि लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्कीले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘लिखुपिके हुदैँ काठमाडौँसम्मको रुट सञ्चालन हुनु खुसीको कुरा हो । पालिका भित्रको सडकमा समस्या आउन नदिन स्थानीय सरकार सधैँ अलर्ट रहने र समस्या आए समाधानमा भूमिका खेल्नेछौँ ।’
मंगलबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको संयोजकत्वमा यातायात व्यवसायी बिच बसेको वैठकले छोटो दुरी, सुरक्षित र शितल रहेको ठहर गरेको थियो ।
विपी राजमार्ग अन्तरगत नेपालथोक–खुर्कोट सडकखण्डका केही भागमा सडक बगाएपछि राजमार्ग बन्द रहेको छ ।
वैकल्पिक रुटको रुपमा घुर्मी, कटारी, हेटौडा हुदै काठमाडौँ प्रयोग गर्न थालिएको थियो । उक्त रुट लामो र भाडा दर ५ हजारसम्म लिनुपर्ने भएकाले अर्को रुटको खोजी गरिएको हो ।