सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ र ८ मा राती ९ बजे देखि होटलपसल सञ्चालन गर्न नपाइने भएको छ । दुबै वडाको बुधबार सम्पन्न संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
राती अबेर सम्म होटल सञ्चालन गर्दा मदिरापान सेवन गर्ने र गाउँघरमा होहल्ला गरि शान्तिसुव्यवस्थामा समेत असर पार्ने कार्य बढेको गुनासो बढेपछि होटल सञ्चालन सम्बन्धि समय निर्धारण गरिएको वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिए।
प्रचलित कानुन विपरितका कार्यहरु दिनप्रतिदिन बढ्दै गएको भन्ने जनगुनासो सम्बन्धि सबैपक्षलाई सचेत गराउने र त्यसको अनुगमन तथा उक्त कार्य न्यूनीकरणका लागि स्वयम्सेवी युवा तस्ता गठन गरि संयुक्त रुपमा परिचालन गर्ने समेत निर्णय गरिएको हो ।
यस्तै अनाआवश्यक रुपमा होहल्ला गर्ने, बाइकमा चर्को ध्वनी काली नियम विपरित सवारी सञ्चालन गर्नेहरुको निगरानी गरि कानुन अनुसार कार्वाहीका लागि सहयोग गर्ने पनि निर्णय गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष राजेश किराँतीले जानकारी दिए ।
उनका अनुसार शान्ति सुरक्षाका लागि सिभिलका प्रहरीलाई समेत रातको सयममा परिचालनका लागि अनुरोध गर्ने र वडाले गठन गरेको स्वयम्सेवी युवादस्ता समेत सहित निर्वाचित जनप्रतिनिधिले समेत सहयोग गर्ने निर्णय भएको छ । उक्त टोली २४सै घण्टा परिचालित हुने भएकाले ढुक्क भएर बस्न वडाले सबैलाई आग्रह गरेको छ ।
यस्तै यस वर्षको तिहारमा राति १० बजे भन्दा बढी देउसी भैलो खेल्न नपाइने समेत उक्त बैठकले निर्णय गरेको छ । सोही बैठकले दुवै वडामा पर्ने सडक खण्डलाई व्यवस्थित बनाउनको लागि १० दिन भित्र मर्मत तथा सरसफाईको कार्य गर्नको लागि महाकुलुङ र एपेक्स हाइड्रोपावर कम्पनीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।