काठमाडौँ । कात्तिक ३० गतेदेखि प्रदर्शन हुने फिल्म ‘ह्रस्व-दीर्घ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बुधबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर एक्सन र रोमान्सले भरिपूर्ण छ । ट्रेलर सार्वजनिक पछि पत्रकारको प्रश्नमा निमात्री तथा नायिका नीता ढुंगानाले ह्रस्व–दीर्घ फिल्मको लागत ६ करोड रहेको खुलासा गरेकी हुन् ।
फरक कथावस्तुमा उत्कृष्ट चलचित्र बनेको दाबी निर्माण पक्षको छ । निर्देशक चन्द्र पन्तले फिल्मका पात्र नेपाली र दक्षिण भारतीय भएपनि नेपाली कथामा निर्माण गरिएको दाबी गरे ।
लेखक, अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको लेखनमा तयार भएको फिल्मको छायांकन र निर्देशिकिय पक्ष लेखकको परिकल्पना भन्दा माथीको भएको बताए ।
नेपाली र हिन्दी भाषामा चलचित्र प्रदर्शनको तयारी गरिएको छ । नेपालमा नेपाली भाषामा प्रदर्शन गरिएको ाता दिनपछि हिन्दी भाषामा पनि फिल्म प्रदर्शनमा ल्याइने पत्रकार सम्मेलनमा जानकारी गराए । ज्योतिषसमेत रहेका नायक हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको चलचित्रमा अभिनेत्री बिपना थापा, रेखा थापा, संन्चिता लुइटेलको पनि लामो समयपछि देखिँदै छन् ।
हरिहर र नितासँगै, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्द, बलिउड कलाकार प्रदीप रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ । विश्वकै ठूलो मानिएको भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौँमा चलचित्रको छायाङ्कन गरिएको छ ।
अभिनेता हरिहरद्वारा लिखित कथामा आधारित यो फिल्ममा बलिउड छायाङ्कन कवीरलालको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ । यो फिल्म नीता फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।
चलचित्रका निर्देशक पन्तले थुर्पै नेपाली चलचित्र सहित दर्जनौँ भोजपुरी चलचित्रहरू निर्देशन गरिसकेका छन् ।