सोलुखुम्बु । नेकपा एमालेको राष्ट्रिय कार्यशालाका लागि बिभिन्न सुझाव दिने निर्णय सहित नेकपा एमाले जिल्ला कमिटि, सोलुखुम्बुको चौथो पुर्ण बैठक सम्पन्न भएको छ ।
पार्टी सुदृढीकरणका लागि नेकपा एमालेले मंसिर २९ र ३० गते काठमाण्डौमा आयोजना गर्न लागेको “स्थानिय तहमा पार्टी कामका समस्या र समाधान” विषयक राष्ट्रिय कार्यशालामा प्रस्तुत गर्ने गरी सोलुखुम्ब जिल्ला कमिटीले सुझाव संकलन गरेको हो । बैठकले बिभिन्न ११ वटा बुँदामा जिल्ला कमिटीका तर्फबाट सुझाव संकलन गरी कार्यशालामा पठाउने तयारी गरेको जिल्ला कमिटी सचिव कल्पना राईले जानकारी दिईन् ।
सचिव राईका अनुसार बैठकले नेकपा एमालेबाट निर्वाचित स्थानिय तह, प्रदेश तथा संघिय जनप्रतिनिधिहरुको तर्फबाट जनहितमा हुने गरेका कार्यमा पार्टी संयन्त्रले समेत प्रचारप्रसारमा सहयोग गर्ने निर्णय गरेको छ ।
पार्टीको जनसंगठन तथा स्थानिय कमिटीहरुको बाँकी रहेका वडा, पालिका तथा जिल्ला अधिवेसन आयोजना गर्न सम्बन्धित क्षेत्रका ईन्चार्ज तथा प्रमुखलाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ । आईतबारको बैठकले नै जिल्ला कमिटीमा मनोनित नयाँ सदस्यहरुलाई गोपनियताको सपथ ग्रहण गराउँदै कार्य सफलताको शुभकामना समेत ब्यक्त गरेको छ ।
जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रिय कमिटी सदस्य एवं सोलुखुम्बु जिल्ला ईन्चार्ज किशोर अधिकारी, प्रदेश कमिटी सचिवालय सदस्य, प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री बुद्धिकुमार राजभण्डारी तथा पुर्व प्रदेश राज्य मन्त्री उत्तमकुमार बस्नेतको समेत उपस्थिती रहेको थियो ।