काठमाडौं । नेपाली लोक संस्कृति, लोककला संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणको उद्देश्यसहित सांस्कृतिक संस्थानले आफ्नो गरिमामय ५४ औँ वार्षिकोत्सवको अवसरमा “सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३” आयोजना गर्ने भएको छ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको सजीव कला प्रदर्शनी सम्बन्धी आधिकारिक तथा ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले असार ३, ४ र ५ गते संस्थानको मेगा हलमा राष्ट्रियस्तरको दोहोरी प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
देशभरिका प्रतिभालाई समेट्ने उद्देश्यले वैशाख ३१ गते आवेदन आह्वान गरिएकोमा निर्धारित समयभित्र २५ वटा समूहले सहभागिताका लागि आवेदन दिएका छन्। ती समूहबीच स्वस्थ र निष्पक्ष प्रतिस्पर्धा गराई विजेता, उपविजेता तथा विभिन्न विधाका उत्कृष्ट कलाकार छनोट गरिने संस्थानले जनाएको छ।
प्रतियोगिताको विजेताले रु. २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु. १ लाख नगद पुरस्कार पाउनेछन्। त्यसैगरी सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिका, सर्वोत्कृष्ट भेषभूषा तथा आभूषण र सर्वोत्कृष्ट सांस्कृतिक भावयुक्त प्रस्तुतीकरण विधामा जनही रु. २५ हजार पुरस्कार प्रदान गरिनेछ। पुरस्कारसँगै प्रमाणपत्र, मायाको चिनो तथा संस्थानको रेकर्डिङ स्टुडियोमा विजेता र उपविजेतालाई एक–एक वटा लोक तथा दोहोरी गीत रेकर्डिङ गर्ने सुविधा उपलब्ध गराइनेछ।
यसबाहेक विजेता, उपविजेता तथा विभिन्न विधाका उत्कृष्ट कलाकारलाई संस्थानद्वारा सञ्चालन हुने ६ महिने कला प्रशिक्षण कार्यक्रममा गायन विधामा सहभागी हुने अवसर समेत प्रदान गरिनेछ।
प्रतियोगिताको निर्णायक मण्डलमा दुर्गा रायमाझी, चन्द्र शर्मा, राधिका हमाल, सीता थापा, कृष्ण रेउले, दीपक खड्का र सुवास केसी रहनेछन्। कार्यक्रमको उद्घोषण बद्री पंगेनी र मञ्जु पौडेलले गर्नेछन्।
विशेष सांगीतिक प्रस्तुति राजु परियार, राजु ढकाल र देवी घर्तीको रहनेछ भने कार्यक्रमको समुद्घाटन नारायण रायमाझीको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ। प्रतियोगिताका विजेता तथा उत्कृष्ट प्रतिभाहरूलाई असार ५ गते आयोजित सांस्कृतिक संस्थानको ५४ औँ तथा राष्ट्रिय नाचघरको ६७ औँ वार्षिकोत्सव समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिनेछ।
वि.सं. २०१६ सालमा स्थापित ‘राष्ट्रिय नाचघर’ लाई वि.सं. २०२९ साल असार ५ गते नाम परिवर्तनसहित “सांस्कृतिक संस्थान” का रूपमा पुनर्गठन गरिएको थियो। ऐतिहासिक सांस्कृतिक विरासत बोकेको संस्थानले महाप्रबन्धक किरण बाबु पुनको नेतृत्वमा पछिल्लो समय उल्लेखनीय कार्यसम्पादन गर्दै आएको छ ।

यसैबीच, नेपाल सरकार अर्थ मन्त्रालयद्वारा प्रकाशित ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०८३’ प्रतिवेदनअनुसार सांस्कृतिक संस्थानले आफ्नो इतिहासमै पहिलोपटक २९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।
महाप्रबन्धक किरण बाबु पुनले नेपाली लोकजीवनको मुटु मानिने दोहोरी गीतको संरक्षण, विकास तथा देशभरि रहेका प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता लोकसंस्कृति प्रवर्द्धनमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन्।

























