६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

थुलुङ दुधकोशी : शैक्षिक गुणस्तर वृद्धिका लागि वडा शिक्षा समितिलाई थप सक्रिय बनाउने


१ कार्तिक २०८०, बुधबार  

260
Shares

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि वडा शिक्षा समितिलाई थप सक्रिय बनाउने भएको छ । पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले हरेक दुई महिनाको पहिलो शुक्रवार समितिको बैठक बसि पालिकामा रिपोर्ट दिनुपर्ने निर्णय गरेको हो ।

शैक्षिक गुणस्तरका निम्ति वडा शिक्षा समितीलाई प्राप्त अधिकार प्रयोग र परिचालनमा जोड दिइने निर्णय गरिएको पालिका अध्यक्ष असिम राईले जानकारी दिए । रिड नेपाल लगायत शैक्षिक क्षेत्रमा काम गर्ने परियोजना र विज्ञ सङ्गको सहकार्यमा शैक्षिक योजना निर्माण गरेको भन्दै पालिका अध्यक्ष राईले शैक्षिक क्यालेण्डर अनुसार शिक्षण सिकाइका कार्य भइरहेको बताए ।

वडा भित्रभएका शैक्षिक गतिविधि, शिक्षण सिकाइमा अभिभावक, व्यवस्थापन समिती र शिक्षकको भुमिका लगायतमा विषयमा प्रतिवेदन ाउने पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । राम्रो काम गर्नेलाइ प्रोत्साहनका कार्यक्रम लागू गरिने विषयमा पनि बैठकमा छलफल भएको उनको भनाइ छ ।

आफ्नै श्रोतबाट जनशक्ति अभाव भएको विद्यालयका लागि अनुदानमा शिक्षक व्यवस्थापन गरेको पालिकाले यस अघिनै इ- हाजिरी प्रयोगमा ल्याएको छ । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार हरेक वडाले आ-आफ्नो ढंगबाट शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिरहेको भएपनि अझै सोचेको जस्तो नतिजा ल्याउन सबै क्षेत्र थप सक्रिय हुनुपर्ने छ ।

सबै भन्दा बढी राज्यको लगानीमा शिक्षा क्षेत्रमा भएपनि नतिजा सोचेजस्तो नआएकाले सबै संयन्त्र परिचालनका लागि विभिन्न विधि निर्माण गरिने पालिकाले जनाएको छ । यस्तै सोही बैठकले खाने तेल प्रतिस्थापनका लागि तेलहन बालीलाई अभियानको रुपमा अघि बढाउने निर्णय गरेको छ ।

भर्खरै कृषकको माग अनुसार तोरिको बीउ वितरण गरेको पालिकाले आफुले खाने तेल तथा घ्यू नागरिक आफैले उत्पादन गर्नुपर्ने नीति लिएको छ । खाने तेलमा आत्मनिर्भर बनी वार्षिक नौ करोड बढी बाहिर जाने रकम रोक्ने अभियान जारी रहेको पालिका अध्यक्ष असिम राईले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १० : ०९ बजे