२२ पुस २०८१, सोमबार | Tue Jan 7 2025

सल्लेरीमा बझाङ र सोलुका शिक्षकको क्षमता अभिबृद्धि तालिम सुरु


१९ पुस २०८१, शुक्रबार  

154
Shares

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा स्थानीय स्रोत शिक्षकका लागि समावेसी शिक्षासम्बन्धी ४ दिने क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ ।

रीड नेपालको आयोजना, नगरपालिका र गाउँपालिकाको समन्वयमा तथा अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा विहिबारदेखि सुुरु तालिममा सोलुखुम्बुका सात ओटा स्थानीय तहका २१ जना स्थानीय स्रोत शिक्षक र बझाङको खप्तड छान्ना गाउँपालिकाका ११ जना स्थानीय स्रोत शिक्षकहरुको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धीमाया तामाङले गरिन् । उपमेयर तामाङले समावेसी शिक्षा आजको आवश्यकता भएको बताउदै महत्त्वपूर्ण तालिमको आयोजनाको लागि रीड नेपाललाई धन्यवाद दिइन् । शिक्षा विकासको मेरुदण्ड भएकोले आफ्नो मुख्य ध्यान शिक्षा क्षेत्रमा रहेको बताइन् ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुन्यराज डंगोलले सोलुखुम्बुमा शिक्षा क्षेत्रमा राम्रो सुधार भएको बताउदै यसको श्रेय रीडलाई जाने बताए । त्यस्तै नगरपालिका शिक्षा शाखा प्रमुख सन्तोष राउतले रीडको तालिम आफूले पनि पटक पटक लिएको बताउदै तालिम निकै प्रभावकारी हुने बताए । तालिम उद्घाटन कार्यक्रमका अतिथिहरुले तालिम सफलताको शुभकामना दिएका थिए ।

तालिममा सहभागीहरुलाई स्वागत तथा तालिमको उद्देश्य माथि प्रकास पार्दै रीड नेपालका शिक्षा विकास सयोजक केशवदेव गिरीले तालिमको मूख्य उद्देश्य समावेसी शिक्षालाई बढवा दिने उद्देश्य रहेको बताए । शिक्षण सिकाइ क्रियाकलापमा समावेसीतालाई मूख्य ध्यान दिने बताउदै विभिन्न अबरोध भएता पनि हामीले चाहेको खण्डमा त्यस्ता अवरोधहरु कम गर्नसकिने हुदा शिक्षकलाई समावेसी शिक्षाको राम्रो ग्यान हुनुपर्ने बताए ।

कार्यक्रमको सहजीकरण रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक पदम महर, शिक्षा विकास संयोजक केशव देव गिरी, सम्वृद्धि खप्तड छान्ना शिक्षा तथा स्वास्थ्य सुधार परियोजनाका प्रबन्धक देवराज खत्री र रीड नेपालका प्रशिक्षकहरुले सहजीकरण गरिरहेका छन् ।

तालिम अवधिमा बझांग र सोलुका शिक्षक बीच अनुभव साटासाट र केही विद्यालय अवलोकन भ्रमण गर्ने कार्यक्रम सकेत रहेको रीड नेपालले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  २ : २९ बजे