काठमाडौँ । थाइल्याण्डले दुई दिनमा दोस्रो प्रधानमन्त्री पाएको छ । गृहमन्त्री फुम्थम भेचायचाईले बिहीबार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । उनले २४ घण्टाका लागि प्रधानमन्त्री रहेका सूर्य जुङ्रुङ्ग्रेङ्किटलाई प्रतिस्थापन गरेको स्थानीय मिडियाले बताएका छन् ।
सूर्य जुङ्रुङ्ग्रेङ्किटलाई बुधबार देशको कार्यवाहक प्रधानमन्त्री नियुक्त गरिएको थियो । ७० वर्षीय सूर्यले जुन १ मा पदबाट हटाइएका निलम्बित प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्रालाई प्रतिस्थापन गरेका थिए ।
शिनावात्रामाथि एक वरिष्ठ कम्बोडियाली नेतासँग फोनमा कुराकानी गरेको आरोप लागेको छ, जुन सार्वजनिक भएको थियो र यसलाई मन्त्री पदको नैतिक नियमको उल्लङ्घन मानिएको थियो ।
थाई सरकारले बिहीबार सामाजिक सञ्जालमा भनेको छ, नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकमा फुम्थमलाई कार्यवाहक प्रधानमन्त्री बनाउने सहमति भएको छ । यो बैठक थाइल्याण्डका राजा महा वजिरालोङ्कोर्नले नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराउँदा भएको थियो ।
प्रधानमन्त्री पियटोङटार्नको कम्बोडियाली नेतासँगको कुराकानीको भिडियो लीक भएको थियो । यसमा प्रधानमन्त्री पियटोङटार्नले कम्बोडियाली नेता हुन सेनलाई ‘अंकल’ भनेर सम्बोधन गरेको र थाई सेना प्रमुखलाई आफ्नो प्रतिद्वन्द्वी भनेकी थिइन् ।
कम्बोडिया र थाइल्याण्डबीच जारी सीमा विवाद चलिरहेको बेला यस्तो अडियो लिक भएपछि विपक्षी दलले यसलाई मुद्दा बनाएको थियो । यस विषयमा थाइल्याण्डको संबैधानिक अदालतले निलम्बित गरेपछि शिनावात्राको प्रधानमन्त्री पद गएको थियो ।