काठमाडौँ । भारतले दलाई लामा बारे प्रतिक्रिया दिएको छ । शुक्रबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै तिब्बती बौद्ध धर्मका आध्यात्मिक नेता दलाई लामाको बारेमा टिप्पणी गरेको छ ।
भारतले आस्था र धर्मसँग जोडिएका विश्वास र परम्परामा कुनै अडान नलिने बताउदै यसप्रति कुनै टिप्पणी नगर्ने बताएको छ ।
विदेश मन्त्रालयले भनेको छ- ‘दलाई लामा संस्थाको निरन्तरताको बारेमा दलाई लामाले दिएको बयानसँग सम्बन्धित रिपोर्टहरू हामीले देखेका छौं । भारत सरकारले आस्था र धर्मसँग सम्बन्धित विश्वास र परम्पराहरूमा कुनै अडान लिँदैन र न त यसमा टिप्पणी नै गर्छ ।’ विज्ञप्तिमा अगाडी भनिएको छ- ‘सरकारले सधैं भारतमा सबैको लागि धार्मिक स्वतन्त्रतालाई समर्थन गरेको छ र त्यसो गरिरहनेछ ।’
दलाई लामाले बुधबार आफ्नो जारी रहने बताएका थिए । उनले एक भिडियो सन्देश जारी गर्दै आफ्नो मृत्यु पछि पनि उत्तराधिकारी खोज्ने प्रक्रिया जारी रहने बताएका थिए ।
तर चीनले दलाई लामाको उत्तराधिकारीको मुद्दामा कडा आपत्ति जनाएको छ । दलाई लामाको सन्देशलाई अस्वीकार गर्दै, चीनको विदेश मन्त्रालयले उनको पुनर्जन्मलाई चिनियाँ सरकारको स्वीकृति आवश्यक रहेको स्पष्ट गरेको थियो । चीनले दलाई लामाको उत्तराधिकारको प्रक्रियाले चीनको कानून र नियमहरू साथै ‘धार्मिक अनुष्ठान र ऐतिहासिक परम्परा’ पालना गर्नुपर्ने पनि बताएको छ ।
दलाई लामालाई तिब्बतका संरक्षक संत अवलोकितेश्वर वा चेनरेजिगको जीवित अवतार मानिन्छ । दलाई लामाको भूमिका प्राचीन छ र १५औं शताब्दीदेखि अहिलेसम्म १४ दलाई लामाहरू बनेका छन् । मार्चमा प्रकाशित आफ्नो पुस्तक भ्वाइस फर द भ्वाइसलेसमा दलाई लामाले उत्तराधिकारी चीन बाहिर जन्मने सम्भावना पनि रहेको बताएका थिए । दलाई लामाको मृत्यु पछि, उनको पुनर्जन्म हुन्छ र धार्मिक नेताले त्यो बच्चा खोज्ने परम्परा रहेको छ ।