१८ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

गोकर्णेश्वरः जेन जी आन्दोलनमा ध्वस्त जम्बुडाँडाँ प्रहरी विट स्थानीयको सक्रियतामा पुर्ननिर्माण



काठमाडौँ । स्थानीयको सक्रियता र सहयोगमा भदौ २४ गते जेन जी आन्दोलनमा ध्वस्त भएको गोकर्णेश्वर नगरपालिका ५ स्थित जम्बुडाँडा प्रहरी विट पुर्ननिर्माण गरिएको छ ।

कपिलमणि उप्रेती नेतृत्वको समितिले टोल सुधार समिति, नागरिक समूह, सामाजिक संघ संस्था, युवा क्लबहरु र स्थानीयको सक्रियता र सहयोगमा पुर्ननिर्माण गरिएको प्रहरी विटको बुधबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । प्रहरी विट स्थापनाका लागि सहयोगी भूमिका खेल्ने बेद प्रसाद सापकोटाले बौद्ध प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक सन्तोष रोकालाई चाबी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले शान्ति सुरक्षा विनाको समाज परिकल्पना पनि गर्न नसकिने भएकाले प्रहरी विट पुर्नस्थापना र पुर्ननिर्माणमा स्थानीय सँग हातेमालो गरेको बताए । स्थानीयको सक्रियता र सहयोगमा पुर्ननिर्माण भएको जम्बुडाँडा प्रहरी विटको बाँकी निर्माणको काम नगरपालिकाले गर्ने र त्यसको लागि २० लाख बजेट विनियोजन गरिसकेको जानकारी दिए ।

उपमेयर सान्नानी लामाले जेन जी आन्दोलनबाट क्षति व्यहोर्नु परेपनि आफ्नो समुदायको हितको पक्षमा स्थानीयलाई जागरुक बनाएको बताइन् । बौद्ध प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले विगतको कमजोरीलाई सच्याउदै गुनासो रहित शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिबद्ध रहेको बताए ।

गोकर्णेश्वर नगरपालिका ५ का वडाध्यक्ष तथा नगर प्रवक्ता नारायण बहादुर सुवेदीले शान्ति सुरक्षा कायमका लागि आवश्यक पर्ने सहयोग गर्न वडा कार्यालय र वडाबासी तत्पर रहेको बताए ।

निर्माण समितिका अध्यक्ष कपिलमुनी उप्रेती अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष भुपेन्द्र थपलियाले आयव्यय सार्वजनिक गरेका छन् । प्रहरी विटको पुर्ननिर्माणका लागि स्थानीयहरुले नगद तथा जिन्सी सामग्री सहयोग गरेका छन् ।

कार्यक्रममा गोकर्णेश्वर वडा नं ६ का वडाध्यक्ष नवराज लामा, वडा नं ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, वडा सदस्य तथा अनुगमन संयोजक श्री बहादुर योगी वडा सदस्यहरु कमला नेपाली, लक्ष्मी पुडासैनी र धर्मथिङ लामा, सामाजिक अभियान्ता उत्तम पुडासैनी, केदारनाथ सापकोटा, मानवअधिकारकर्मी रामकृष्ण बराल लगायतको उपस्थिति रहेको थियो ।

शक्ति बहादुर बस्नेत गृहमन्त्री भएको समयमा २०७२ साल फागुन २२ गते स्वर्गीय यज्ञप्रसाद सापकोटाको अगुवाइमा प्रहरी विटको स्थापना गरिएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ०४ बजे