भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५ को अवसरमा बुधबार विशेष कार्यक्रम आयोजना गरी देशभर प्यालियटिभ सेवाको सशक्त विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। सोही अवसरमा अस्पतालले “BCH Palliative Care Fund” स्थापना गर्ने घोषणा गरेको छ, जसको रकम आर्थिक रूपमा कमजोर बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गर्न प्रयोग गरिनेछ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक तथा कार्यक्रमका अध्यक्ष डा। उज्ज्वल चालिसेले स्वागत मन्तव्य दिँदै जीवनको अन्तिम क्षणमा पनि माया, सहानुभूति र सम्मान पाउने अधिकार प्रत्येक व्यक्तिको हुन्छ भन्ने सन्देश दिए। “हामी केवल उपचार होइन, मानवताको सेवा गरिरहेका छौं। प्यालियटिभ केयर हाम्रो सामाजिक र नैतिक जिम्मेवारी हो,” — चालिसेले भने।
कार्यक्रममा उनले नेपालमा पहिलोपटक Hospice Facility स्थापना गर्ने लक्ष्य रहेको बताउँदै, यसका लागि सरकारी, गैर–सरकारी निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले भक्तपुर क्यान्सर अस्पतालले अहिले नै देशकै एक सशक्त प्यालियटिभ केयर युनिट सञ्चालन गरिरहेको र यसलाई थप सुदृढ बनाउने योजनामा रहेको जानकारी दिए।
अस्पतालले सर्जरी, रेडियसन, किमोथेरापी, इम्युनोथेरापी, ल्याब सेवा, सिटी स्क्यान लगायतका उपचारका सुविधा उपलब्ध गराइरहेको र यसै वर्षदेखि PET Scan सेवा सुरु गर्न लागेको पनि उनले जानकारी दिए। कार्यक्रममा प्रमुख अतिथि मिस नेपाल २०२५ सुश्री लुना लुइटेल थिइन्। लुइटेलले आफ्नो मन्तव्यमा भनिन्, “प्यालियटिभ केयर केवल चिकित्सकीय सेवा होइन, यो मानवीय मूल्यसँग जोडिएको अभियान हो। हामी सबैले यसलाई सामाजिक दायित्वको रूपमा लिनुपर्छ।”
त्यसैगरी विशिष्ट अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले नेपाल सरकारले हालै २०२५–२०३५ को राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको जानकारी दिँदै उक्त रणनीतिले देशभर प्यालियटिभ सेवा विस्तारमा ठूलो भूमिका खेल्ने बताए।
कार्यक्रममा निर्देशक चालिसेले उक्त रणनीतिको पाँच मुख्य पक्षहरू — मानव संसाधन विकास, सेवाको पहुँच विस्तार, संस्थागत सुदृढीकरण, औषधि सुनिश्चितता, र समुदाय संलग्नता — प्रस्तुत गर्दै नेपालमा प्यालियटिभ सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न आवश्यक रहेको बताए। अस्पतालका अनुसार हाल नेपालमा प्यालियटिभ केयरमा विशेष एमडी डिग्री प्राप्त दुई जना मात्र चिकित्सक कार्यरत छन्, र दुवै जना भक्तपुर क्यान्सर अस्पतालमै कार्यरत छन्। हाल अस्पतालले Home-Based Care र Terminal Care Unit मार्फत पनि निरन्तर सेवा दिइरहेको छ।
सो अवसरमा उनले लायन्स क्लब अफ बाग्मती क्यान्सर केयर (रु १ लाख_, DK Medi Sales (रु ५ लाख बराबरको सहयोग), East West Concern (रु २ लाख_ र श्रीमती उषा दीक्षित (रु १ लाख) द्वारा BCH Palliative Care Fund मा सहयोगको प्रतिबद्धता जनाएको जानकारी दिए। कार्यक्रममा दिवंगत चिकित्सक डा। चाँदनी वैद्य, पूर्व निर्देशक डा। सुदीप श्रेष्ठ, डा. आरती शाह, र प्रा. डा= विष्णुदत्त पौडेलको योगदानलाई विशेष रूपमा सम्झना गरिएको थियो।
“Achieving the Promise: Universal Access to Palliative Care” भन्ने नाराका साथ मनाइएको यो वर्षको दिवसमा उपस्थित सहभागीहरूले प्यालियटिभ सेवालाई देशभर सुलभ र सम्मानजनक बनाउने संकल्प व्यक्त गरे। कार्यक्रम भक्तपुर क्यान्सर अस्पतालको प्राङ्गणमा सम्पन्न भएको थियो।