काठमाडौँ । तिहार पर्व नजिकिँदै गर्दा गोकर्णेश्वर नगरपालिकाले मौलिक देउसी–भैलोको भिडियो पठाए उक्त समूहलाई सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ ।
नगरपालिकाले तिहारलाई लक्षित गर्दै शान्ति–सुरक्षा कायम र सांस्कृतिक परम्पराको जगेर्नाका उद्देश्यले एक सूचना जारी गर्दै मौलिक देउसी–भैलोको प्रवर्द्धन गर्न आग्रह गरेको हो ।
नगरले देउसी–भैलो खेल्ने समूहहरूलाई परम्परागत शैलीमा मादल बजाएर, भट्याएर, लोकधुनमा आधारित मौलिक शैलीमा — देउसी–भैलो प्रस्तुत गर्न प्रोत्साहित गरेको छ । यसका लागि मौलिक देउसी–भैलो खेलेको भिडियो ह्वाट्सएप नम्बर ९८४४२८०४१४ मा पठाउने समूहलाई नगरपालिकाले सम्मान तथा पुरस्कृत गर्ने जनाएको छ ।
मेयर दिपक कुमार रिसालले आधुनिकताको नाममा देउसी–भैलोमा देखिएका विकृतिलाई रोक्न नगरपालिका सक्रिय भएको बताए । उनले भने, “पहिलेको जस्तो मौलिक देउसी हराउँदै गएको छ । हामी त्यसलाई पुनःस्थापित गर्न चाहन्छौं । जसले मौलिकताको जगमा देउसी–भैलो खेल्छ, नगरपालिका त्यसलाई सम्मान गर्न तयार छ ।”
साथै, नगरपालिकाले तिहारका क्रममा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विशेष सतर्कता अपनाउने निर्णय पनि गरेको छ । हालै जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका चार हजारभन्दा बढी कैदी फरार रहेको र उनीहरूकै संलग्नतामा आपराधिक घटना बढिरहेको जनाउँदै, नगरले रातिको समयमा हुने गतिविधि नियन्त्रणमा लिने निर्णय गरेको हो ।
नगरपालिकाले दोहोरी साँझ, डान्सबार, डिस्को, रेष्टुरेन्ट तथा मादक पदार्थ बिक्री गर्ने पसलहरू राति ८ बजेपछि सञ्चालन नगर्न निर्देशन दिएको छ ।
त्यस्तै, पटका तथा बारुदजन्य पदार्थको बिक्री, वितरण र प्रयोग नगर्न समेत आग्रह गर्दै नगरले चेतावनी दिएको छ । उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कडा कारबाही गरिनेछ ।
गोकर्णेश्वर नगरपालिकाको ४१औं कार्यपालिका बैठकको यो निर्णयले तिहारमा मौलिक संस्कृति जगेर्ना र शान्ति–सुरक्षा दुवै सुदृढ गर्ने उद्देश्य लिएको जनाएको छ ।