८ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025

बाजुराको अर्गानिक स्याउ बिक्रीबाट १ करोड बढिको आम्दानी


८ कार्तिक २०८२, शुक्रबार  

4
Shares

बाजुरा । बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट १ करोड बढिको आम्दानी भएको । यहाँका स्याउ कृषकहरुले स्याउ बिक्री गरेर १ करोड ५० लाख बराबरको आम्दानी गरेका हुन् ।

बाजुराको स्वामिकार्तिक,हिमाली,जगन्नाथ र बुढिनन्दामा उतपादित स्याउ बिक्रिबाट सो रकम आन्दानी गरिएको हो। अहिले बाजुरामा उत्पादित अर्गानिक स्याउ देशका ठुला शहर काठमाडौं,नेपालगन्ज,सुर्खेत,धनगढीमा भेटाउन सकिन्छ ।

बाजुराका किसानहरुले आफ्नो खेतबारीमा उत्पादन गरेको ठुलो परिणामको स्याउ बाह्य जिल्लामा निर्यात गर्ने गरेका छन् । कृषि ज्ञान केन्द्र बाजुराको ढुवानीमा उनीहरुले स्याउ बिक्री गर्ने गरेका छन् । अघिल्लो बर्षको तुलनामा भन्दा यो स्याउ उत्पादनमा भने कमी आएको हो ।

बाजुरामा भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भएको थियो । कतिपय किसानले डोकोमा बोकेर स्याउ बिक्री गरे पनि ठुलो परिणामको स्याउ बजारिकरणबाट एक करोड बढि आम्दानी भएको हो । अन्य सानोतिनो संख्यामा बिक्री भएको स्याउको विवरण र आम्दानी नराखिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाटो बन्दका कारण स्याउ ढुवानीमा केही समस्या भएको थियो । सडकले बन्दले समयमै सोचेजस्तो स्याउ बजारिकरण गर्न नसक्दा केहि मात्रामा घाटा व्यहोर्नु परेको बुढिनन्दाका स्याउ कृषक पुर रावतले बताए । तर पनि पाकेको स्याउ कर्णाली करिडोर हुँदै अन्य जिल्ला निर्यात गरिएकोले किसानहरुलाई आम्दानी गर्न सहज भएको उनले बताए ।

कृषि ज्ञान केन्द्र बाजुराले ४ बर्ष यता कृषकको बारीबाटै ढुवानी अनुदानसहित स्याउ जिल्ला बाहिर पठाउँदै आएको छ । बाजुरामा स्याउ उत्पादन हुने जम्मा ४२५ हेक्टर क्षेत्रफल रहेकोमा दुई सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ जहाँ जम्मा १ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ ।

बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको हिमाली,स्वामिकार्तिक,जगन्नाथ,बुढिनन्दा,गौमुल लगायतका पालिकामा स्याउ उत्पादन हुने गरेको छ । हरेक बर्ष बाजुरामा राम्रो मात्रामा स्याउ उत्पादन भए पनि समयमै ढुवानी नहुँदा कुहिने गरेका छन् ।

यहाँको हिमाली,बुढीनन्दा, स्वामिकार्तिक,जगन्नाथमा राम्रो उत्पादन हुने गरेको छ । यता गौमुल र बडीमालिकामा पनि पछिल्लो समय केहि रुपमा स्याउ फल्ने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शुक्रबार  ३ : ५० बजे