सोलुखुम्बु । तल्लो सोलु जलविद्युत आयोजना (८२ मेगावाट) ले वितरण अति प्रभावित र प्रभावित क्षेत्रको शेयर वितरण प्रक्रियामा हस्तक्षेप नगर्न ध्यानाकर्षण गराइएको छ ।
अति प्रभावितको भूगोलमा नेचासल्यानबासीले पनि दाबी गरेपछि नेपाली कांग्रेस तिङला काठमाडौँ सम्पर्क समितिका अध्यक्ष बाबुराम कार्की, नेले विकास समाजका अध्यक्ष रोशन थुलुङ र नेपाल तरुण दल तिङलाका अध्यक्ष फुर्वा शेर्पाको नेतृत्वमा गएको टोलीले काठमाडौँ स्थित सोलु हाइड्रोपावरको कार्यालयमा पुगेर अति प्रभावित क्षेत्रका नागरिकलाई वितरण गर्न लागेको आएपिओ प्रक्रिया अबरोध नगर्न र कुनै पनि फेरबदल मान्य नहुने माग राखेका छन् ।
मंसिर ७ देखि २१ गतेसम्म अति प्रभावितलाई ४० लाख कित्ता र प्रभावित जनतालाई ६० लाख कित्ता सियर आईपिओ जारी गर्ने सूचना सार्वजनिक गरिसकेको छ । आयोजनाले सोलुदुधकुण्ड नगरपालिका ७ र ११ तथा थुलुङ दुधकोशी गाउँपालिका १ नेलेलाई अति प्रभावित र सोही पालिकाका अन्य वडा वडालाई प्रभावितको सूचीमा राखेको छ ।
अन्य स्थानीय तहले अति प्रभावितको हिस्सा दाबी गरेपछि अति प्रभावित क्षेत्रका स्थानीयले असन्तुष्टि जनाएका छन् । अति प्रभावित क्षेत्रमा समाबेश गर्न नेचासल्यानबासीले दबाब बढाउन थालेपछि आफ्नो अधिकार कटौती हुने डरले अति प्रभावित क्षेत्र तिङला, गार्मा र नेलेका स्थानीयले पनि दबाब बढाउन थालेका हुन् । उनीहरुले मंगलबार नै सोलुखुम्बुको जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण गराए । अर्को टोलीले काठमाडौँ स्थित कम्पनीको कार्यालयमा पुगेर आफ्नो अधिकार कटौती भए वा हेरफेर भए मान्य नहुने चेतावनी दिएका छन् ।
वडा अध्यक्ष टंक बहादुर कार्कीद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘आयोजनाको हेडवक्र्सदेखि पावरहाउससम्मका मूल संरचना यही वडाभित्र पर्ने भएकाले तिडलाका जनताले विगतदेखि नै सबैभन्दा बढी आर्थिक, सामाजिक र भौतिक क्षति व्यहोर्दै आएको तथ्य सम्बन्धित सबै निकायमा दर्ता छ ।’
सोलु हाइड्रोपावरले आगामी मङ्सिर ७ गतेदेखि आइपिओ निष्कासन गर्ने तयारी पूरा गरेको छ । कम्पनीले १० अर्ब रुपैयाँ जारी पुँजीमध्ये २० प्रतिशत अर्थात् २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको जनाएको छ । जसमा १ करोड कित्ता आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ । तीमध्ये ४० लाख कित्ता सोलु दूधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का अति प्रभावित बासिन्दाका लागि तोकिएको छ भने बाँकी ६० लाख कित्ता सोही पालिका भित्रका अन्य वडाका स्थानीयका लागि रहनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि कुल सर्वसाधारण भागको १० प्रतिशत अर्थात् १० लाख कित्ता शेयर छुट्टाइएको छ । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिनेछ ।


























