बाजुरा । बाजुरामा देउडा गीत, नृत्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, स्थानीय पहिचान र सांस्कृतिक अस्तित्वको जिवन्त अभिव्यक्ति बनेर जगेर्ना हुँदै आएको छ ।
स्थानीय भाषा समुदायमा सृजना भएका देउडा गीतले समयक्रममा अत्यधिक लोकप्रियता कमाउँदै यस क्षेत्रभन्दा बाहिर समेत गहिरो प्रभाव छाडेको छ ।
दशैँ, तिहार, भुवापर्व, गौरा पर्व, मेला, पुतला, रत्यौलीदेखि विवाह उत्सवसम्म लगभग सबै सांस्कृतिक तथा धार्मिक अवसरमा देउडा प्रस्तुति अनिवार्यझैँ मानिन्छ । एकल रूपमा गाइने देउडा अहिले समूहमा ‘डेढ कदम’ मेलाउँदै गोलो घेरामा प्रस्तुत गरिने अनोठो शैलीका कारण अझ प्रभावकारी बन्दै गएको छ ।

देउडा शब्दको उत्पत्तिबारे गाँउघरमा विभिन्न व्याख्या गरिरहेको पाइन्छन् । संस्कृत भाषाको देउंदुराय शब्दबाट देउदुरा हुँदै देउडा बनेको मानिन्छ, भने कतिपय विद्वानले नृत्यको चाल र प्रस्तुती शैलीका आधारमा यसको नामकरण भएको धारणा प्रस्तुत गर्छन् ।
बाजुरामा कुनै पनि मेला–पर्व, सामूहिक उत्सव वा खुसियाली बिना देउडा गीत पूरा नहुने मान्यता छ । बाजुरेली पहिरन, स्थानीय बोली–भाषा र भाकाले देउडालाई अझ मौलिक र आकर्षक बनाइदिन्छ ।
स्थानीयले आफ्नो दुःख, सुख, जीवनका अनुभव, सामाजिक अवस्थादेखि पारिवारिक कथा–व्यथासम्म देउडाका ओल्काहरूमा पोख्ने परम्परा अझै बलियो छ ।

यही कारण देउडा केवल गीत, नृत्य नभई सामुदायिक भावनाको दर्पण पनि मानिएको छ । आधुनिक गीत, संगीतका जति नै नवीन शैली बजारमा आए पनि बाजुरेली समुदाय देउडाप्रति समान भावनात्मक सम्बन्ध राख्दै आएका छन् । ‘आजै शुरु भएजस्तो नयाँ उर्जा’ लिएर देउडामा रमाउने गर्छन् यहाँका बासिन्दा, जसले परम्परागत संस्कृतिलाई वर्तमान पुस्तासम्म जोडिदिने काम गरेको छ ।
देउडा गीतको भिडियोले पनि त्यही सांस्कृतिक समृद्धि उजागर गरेको छ । भिडियोमा देखिएको स्थानीय पोशाक, सामूहिक नृत्य, तालमेलपूर्ण डेढ कदम र मौलिक भाका यस परम्पराको जीवन्तता र भव्यताको प्रमाणित उदाहरण बनेका छन् । आधुनिक प्रविधि र डिजिटल माध्यमको प्रसारसँगै बाजुरेली देउडाको पहिचान राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने सम्भावना अझ प्रबल बन्दै गएको छ ।

























