काठमाडौं । नेपाली चलचित्र र म्यूजिक भिडियो दुवै क्षेत्रमा सक्रिय अभिनेत्री स्नेहा जोशी मनोरञ्जन मात्र होइन, सांस्कृतिक जगेर्ना हुने किसिमका गीत–भिडियोमा काम गर्न उत्साही देखिन्छिन्। उनीका अनुसार अहिलेको पुस्ता मौलिक शब्द, भेषभुषा र संस्कृतिबाट बिस्तारै टाढिँदै गएको अवस्थामा कलाकारले नै त्यसको रक्षा र प्रचारमा भूमिका खेल्न आवश्यक छ।
स्नेहाले भनिन्, “गीत–संगीतलाई धेरैले केवल रमाइलोका रूपमा लिन्छन्, तर म चाहिँ मनोरञ्जनसँगै संस्कृतिको पहिचान झल्कियोस् भन्ने चाहन्छु। भिडियो हेरेपछि दर्शकले केही सिकून, केही बुझून—मलाई त्यही महत्त्वपूर्ण लाग्छ।”
उनका अनुसार यस्तै मौलिकता भरेका गीतहरू आफ्नो ‘पहिलो प्राथमिकता’ हुन्। “गरिमा, मौलिक स्वाद र नेपालीपन देखिने काम आउँदा खुसी नै लाग्छ,” उनले बताइन्।
हालै सार्वजनिक भएको उनी मोडलिङ गरेको नयाँ गीत ‘खुर्पेटो आँसी’ ले पनि गाउँघरमा बिस्तारै हराउँदै गइरहेका परम्परागत शब्दहरूलाई उजागर गरेको स्नेहाको बुझाइ छ।
“आँसी, हसिया जस्ता शब्द अहिलेको जेनेरेशन शहरमा सुन्दैनन्। गीतले मनोरञ्जनसँगै त्यस्ता शब्दहरूको अर्थ र प्रयोगबारे पनि सिकाएको छ,” स्नेहा भन्छिन्।
गीतमा बाबु कौसल र शान्तिश्री परियारको स्वर छ भने शब्द–संगीत रेशम निर्दोषले दिएका हुन्। निर्देशन पनि निर्दोषकै रहेको भिडियोमा अभिनेत्री स्नेहा जोशी र प्रियंका नेपालीलाई पछ्याउँदै आर.के. परियार र बिक्रम परियार खुर्पेटो आँसी बोकेर देखिन्छन्। कोरियोग्राफी राजाराम सिम्खडा, छायांकन महेश महरा, सम्पादन बिनोद बमले गरेका छन्।
सिनेमा र संगीत दुवै क्षेत्रमा जम्न थालेकी स्नेहाले जनै हराएको मान्छे, कोशेढुंगा, जन्तेबाख्रो मन बिनाको धन र सावरी गरी ५ वटा चलचित्रमा काम गरिसकेकी छिन् । सावरीमा स्नेहाको प्रमुख भूमिका छ भने उक्त फिल्म रिलिज हुन बाँकी छ । साथै उनले २० वटा म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।

























