काठमाडौं । जय मातृभूमि पार्टीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिको बारेमा प्रधामन्त्री शुशिला कार्कीसँग भेट वार्ता गर्दै निर्वाचन सम्बन्धमा पार्टीको आधिकारिक धारणा प्रस्तुत गरेको छ ।
पार्टीका सह—अध्यक्ष रामशरण पाण्डेको नेतृत्वमा सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा गएको पार्टी नेताहरुको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई मुलुकको वर्तमान अवस्था वारे ध्यानाकार्षण गराउँदै नव युवाहरुको विद्रोहबाट सिर्जित परिस्थितिको सम्वोधनको लागि यो सरकार स्थापना भएकाले आन्दोलनको मर्म र भावना अनुरुप सरकारको कार्यशैली हुनु पर्ने सुझाव दिएके छ । निर्वाचनको वातावरण बनाउन जय मातृभूमि पार्टी र जेन—जि आन्दोलनले उठाएका मागहरु अविलम्व सम्बोधन गर्ने दिशा तर्फ सरकारको ध्यान जावस भन्दै ६ सूत्रीय माग प्रस्तुत गरेको छ ।
पार्टीका महासचिव गोविन्द गिरीले वाचन गरी प्रधानमन्त्रीलाई पेश गरिएको ज्ञापन पत्रमा भनिएको छ ‘पञ्चायतकाल, बहुदलीय व्यवस्था र गणतान्त्रिक शासनकाल समेतमा केवल शासकहरुको सुखसयलको निम्ति नै राज्यका साधनस्रोतहरु प्रयोग गरिए, नागरिक प्रति राज्य उदासीन भयो तथा देश सबै क्षेत्रबाट पराधीन बन्न पुग्यो । परिणामस्वरुप देशको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक, न्यायिक क्षेत्र तथा उत्पादन संस्कृति समेत प्रताडित भई नागरिकलाई आफ्नो देशमा बाँच्ने आशा मरेको अवस्थामा नवयुवाहरुको बिद्रोहबाट सिर्जित परिस्थितिको सम्वोधनको लागि यो सरकार स्थापना भएको हो । नवयुवाहरुको स्वदेशमै स्वरोजगार बन्ने र आशा भरोसा जगाउने, देशमा सुव्यवस्था लागु गर्ने, उत्पादन सँस्कृति सवल बनाउँदै भोक, रोग निवारणको देश बनाउने अभियानमा यहाँको भूमिका गौरवशाली रहने हाम्रो अपेक्षा छ ।’

निर्वाचनको वातावरण बनाउन निम्न लिखित कार्यहरु तत्काल गर्न जोडदार माग गर्दछौँ ।
१) जेन—जी आन्दोलनले उठाएका मागहरु, क्रमशः सुशासनको स्थापना, हत्यारा र भ्रष्टहरुलाई तत्काल कारबाही गर्ने र सेनाको परमाधिपतिको हैसियतले गठन गरेको सरकार हुँदा संविधानसम्मत नभई आन्दोलनको भरमा बनेकोले नबयुवाहरुको माग पूरा गर्ने तर्फ काम गर्नुका साथै देशको अस्तित्व रक्षाको काम होस् ।
२) जेन—जीको भाद्र २३ को आन्दोलनमा भएका हत्याहरुको अनुसन्धान, तहकिकात गरी दोषीहरुलाई कानुनी कठघरामा ल्याइयोस् । साथै, भाद्र २४ मा घुसपेठियाहरुले गरेको राष्ट्रिय धरोहरको विनाश एवं अन्य तोडफोड र आगजनी गर्नेहरु माथि कानुनी कारवाही गरियोस् ।
३) सुशासनको मागलाई सम्वोधन गर्न विगत दशकौंदेखि सत्ता र राज्य शक्तिमा बसी मुलुकलाई दोहन गर्ने सयौं भ्रष्टाचारका घटनामा छिटो छरितो मुद्दा चलाइयोस् र अकूत सम्पत्तिको अनुसन्धान प्रारम्भ गरियोस् ।
४) जनतालाई दिने सेवाहरु जस्तै नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक प्रमाणपत्र, राहदानी, जग्गा रजिेष्ट्रेशन जस्ता विषयमा एक द्ववार प्रणाली ९यलभ(मययच उयष्अिथ० बाट नागरिकलाई छिटो छरितो र सहज सेवा दिने प्रणाली तत्काल सुरुवात गरियोस् ।
५) यो आन्दोलनले नेपालको संविधान, २०७२ लाई र यो अन्तर्गतको व्यवस्थालाई खारेज गरिसकेकाले वर्तमान सरकारले गोलमेच सम्मेलन गरी अन्तरिम संविधान निर्माण गरियोस् ।
६) माथिका बुँदाहरुमा उल्लिखित कार्यहरु क्रमशः सम्पादन गर्दै अन्तरिम संविधान निर्माण पश्चात मात्र आम निर्वाचन गराइयोस् ।

जनादेशबाट सरकार बनाउने प्रक्रियामा आवधिक निर्वाचनबाट हामी जस्तो नागरिकतन्त्र चाहने राजनीतिक पार्टी कदापि विमुख हुने छैनौँ तर आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका मुख्य मुख्य मागहरु र आदेशलाई वेवास्ता गरी निर्वाचनलाई एक मात्र लक्ष्य निर्धारण गरी अघि बढ्नु आन्दोलनको भावना, मर्म र मागलाई बेवास्ता गर्नु भएकोले यस्तो प्रबृतिले कुनै सुखद परिणाम नल्याउने यस पार्टीको धारण रहेको व्यहोरा अवगत गराउँदछौंं ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री शुशिला कार्कीज्यूले पार्टीलाई निर्वाचनमा भाग लिन आग्रह गर्नु भयो। उहांले पार्टीमा अनुभवी र विज्ञहरुको समूह रहेको देख्दा खुशी लागेको साथै यहाँहरुको अनुभव राष्ट्रका लागि आवश्यक छ भन्दै उहांले जय मातृभूमि पार्टीले कुरा मात्रै नगरेर उत्पादन र स्वरोजगारीको लागि समेत काम गरेकोमा धन्यवाद व्यक्त गरेको महासचिव गोविन्द गिरीले जानकारी दिनु भयो ।
ज्ञापन पत्रमा सह—अध्यक्ष रामशरण पाण्डे, वरिष्ठ नेता क्या.के.वि.लिम्वु, वरिष्ठ उपाध्यक्ष रोमलाल गिरी, महासचिव गोविन्द गिरीले हस्ताक्षर गर्नु भएको छ । आमा (बच्चा काखमा लिएको आमा) चुनाव चिन्ह रहेको जय मातृभूमि पार्टीमा भुतपूर्व सुरक्षाकर्मी, पूर्व कर्मचारीहरु, विभिन्न क्षेत्रका विज्ञहरु, सुशासन, नेपालवादका अभियन्ताहरु तथा युवा समुहहरु सम्मिलित रहेका छन् । पार्टीका डेलिगेशनमा नेताहरु उपाध्यक्ष (पुर्व डिआइजि) उत्तम कुमार कार्की, सचिव उच्च अदालतका पुर्व मुख्य न्यायाधिस यज्ञ प्रसाद बस्याल, सचिव तोप गुरुङ र केन्द्रीय सदस्य गौरव जोशी लगायतका नेताहरुको सहभागिता रहेको थियो।

























