६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

खेलकुद र सांस्कृतिक कार्यक्रम गरेर चाक्चाकुर मनाइदै, मुन्दुम (रिदुम) ट्रेल भ्रमण वर्ष पनि समापन गरिने



सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङले कुलुङ जातीहरुको महान पर्व मिनारी दाचाम चासुम्लो निङदोङ फाइम (चाक्चाकुर)को अवसरमा विभिन्न ८ विधाका खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।

महाकुलुङ गाउँपालिकाको आयोजनामा पुस १५ देखि १८ सम्म मनाइने चाक्चाकुरमा भलिबल देखि कुलुङ भाषाको गीत गायनसम्मका प्रतियोगीतात्मक कार्यक्रमको आयोजना गरिएको छ । खुला महिला पुरुष भलिबल तर्फ विजेताले नगद ५० हजार, ४० हजार, ३० हजार र १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खुला महिला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई १५ हजार, १० हजार र ८ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, खुला महिला पुरुष म्याराथन (दौड) प्रतियोगिताका विजेताले ३० हजार, २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

महाकुलुङ गाउँपालिका स्तरीय पुरुष धनुषवाण (वेईलिफू), महिला पुरुष छेलो (सटपुट) र सै राजा सै सै प्रतियोगिताका शिर्ष विजेताले ४ हजार, ३ हजार, २ हजार र एक हजारको साथमा प्रमाणपत्र प्राप्त गरिनेछ ।

चाक्चाकुर पर्वकै अवसरमा कुलुङ भाषाको गीतमा खुला एकल ट्रयाक गायन र कुलुङ भाषाकै गीतमा खुला युगल नृत्य प्रतियोगिता पनि आयोजना गरिदैछ । सो प्रतियोगीताका विजेताले १० हजार, ८ हजार, ६ हजार र ४ हजारको साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

मुन्दुम (रिदुम) ट्रेल भ्रमण वर्ष – २०२५को समापन समेत गरिने कार्यक्रममा स्थानीय उत्पादनमा आधारित परम्परागत परिकारको उपलब्धता, कुलुङ र शेर्पा लगायतका आदिवासीका परम्परागत संस्कृति, परम्परा, चलनको अध्ययन तथा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

पर्वको अवसरमा सांगितिक साँझको समेत आयोजना गरिने आयोजक मूल समिति संयोजक सरस्वती कुलुङले जानकारी दिइन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १२ : १८ बजे