काठमाडौँ । लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र अभिनेत्री वर्षा शिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘गोबर गणेश’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट १९ सेकेन्ड लामो ट्रेलरले गाउँबाट सहरसम्मको संघर्ष, सपना र यथार्थबीचको द्वन्द्वलाई सशक्त रूपमा चित्रण गरेको छ।
ट्रेलरमा गाउँमा हाँसीखेली हुर्किएको एक सामान्य युवाले ठूलो सपना बोकेर काठमाडौं प्रवेश गरेपछि भोग्नुपर्ने कठोर यथार्थ देखाइएको छ। पैसा कमाउने दौडमा सहरले उसलाई अनेक चुनौती, अपमान र संघर्षको भुमरीमा फसाल्छ। के गाउँबाट आएको त्यो पात्रले काठमाडौंमा आफ्नो सपना पूरा गर्न सक्ला ? यही जिज्ञासाले ट्रेलर दर्शकलाई अन्त्यसम्म बाँधेर राख्छ।
फिल्मको केन्द्रमा स्वयं मरिचमान श्रेष्ठ छन्। यही फिल्मबाट उनले कथानक फिल्म निर्देशन र अभिनय दुवैमा डेब्यू गरेका हुन्। चर्चित टिभी श्रृंखला ‘बल्छी धुर्बे’मार्फत सामाजिक यथार्थलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएका मरिचमानको यो फिल्मी यात्रा उनको करिअरको दोस्रो इनिङ्सको रूपमा हेरिएको छ।
टेलिभिजनबाट अपार लोकप्रियता कमाएका मरिचमान अब ठूलो पर्दामा आफ्नै कथावस्तु, निर्देशन र अभिनयसहित प्रस्तुत हुँदा दर्शकमा विशेष उत्सुकता देखिएको छ। ट्रेलरमा उनको अभिनय गम्भीर, भावनात्मक र यथार्थपरक देखिन्छ।
फिल्ममा पदम तामाङ, पूजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङ र विशाल पहाडीजस्ता चर्चित कलाकारहरूको सशक्त अभिनय रहेको छ। बल्छी धुर्बे फिल्म्सको ब्यानरमा निर्माण भएको ‘गोबर गणेश’ सामाजिक यथार्थ र आम नेपालीको संघर्षकथामा आधारित रहेको संकेत ट्रेलरले दिएको छ।
फिल्म आगामी १ माघदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। टिभीमा सफल कथा सुनाएका बल्छी धुर्बेले ठूलो पर्दामा कस्तो प्रभाव छोड्लान् भन्ने प्रतीक्षा दर्शकमा बढ्दो छ।





























