काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले सोलुखुम्बु प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता असिम राईलाई उम्मेदवार बनाएको छ।
पार्टी संयोजक पुष्पकमल दाहालले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राईलाई सोलुखुम्बुबाट उम्मेदवारको रूपमा अघि सारेका हुन्।
सोलुखुम्बु जिल्लामा प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ। हाल थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्षसमेत रहेका राई २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि सोही पालिकाबाट अध्यक्षमा निर्वाचित भएका थिए।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सोलुखुम्बुबाट एमालेका मानवीर राई विजयी भएका थिए। यसपटक एमालेले कल्पना राईलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले हालसम्म आफ्नो उम्मेदवार टुंगो लगाइसकेको छैन। श्रम संस्कृति पार्टीले वियस राईलाई उम्मेदवार बनाएको छ ।
वि.स. २०६३ सालदेखि सक्रिय राजनीतिमा होमिएका असिम राई एक्सन ओरिएन्टेड स्वभाव, प्रभावशाली भाषण कला र स्पष्ट भिजन भएको नेताको रुपमा परिचित छन् ।

























