काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मुखैमा नेकपा एमाले ओखलढुंगाको सिंगो जिल्ला कार्यसमिति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ।
शुक्रबार काठमाडौँमा आयोजना हुने विशेष कार्यक्रममा नेकपाका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले ओखलढुंगाको सम्पूर्ण जिल्ला नेतृत्वलाई पार्टीमा स्वागत गर्ने तयारी गरिएको नेकपा नेता लोचन केसीले जानकारी दिए। कार्यक्रम काठमाडौँको नवदुर्गा पार्टी प्यालेस सुकेधारामा दिउँसो १ बजे आयोजना गरिनेछ।
एमाले ओखलढुंगाबाट सिफारिस गरिएका आकांक्षीलाई पन्छाउँदै केन्द्रले एकल निर्णयमार्फत उम्मेदवार छनोट गरेपछि जिल्लामा असन्तुष्टि चुलिएको थियो। एमालेले अस्मिता थापालाई प्रतिनिधि सभा उम्मेदवार बनाएपछि पार्टीभित्र खुलेआम विद्रोहको अवस्था सिर्जना भएको नेताहरूको भनाइ छ।
यसअघि एमाले ओखलढुंगाको जिल्ला कार्यसमितिले पत्रकार सम्मेलन गर्दै केन्द्रले निर्णय नसुधारे सामूहिक विद्रोह गर्ने चेतावनी दिएको थियो। सोही विवादकै बीच तत्कालीन एमाले नेता अम्बीरबाबु गुरुङ नेकपाबाट प्रतिनिधि सभा उम्मेदवार भइसकेका छन्।
गुरुङकै नेतृत्वमा एमाले ओखलढुंगाको सिंगो जिल्ला कार्यसमिति नेकपामा समाहित हुन लागेको हो। निर्वाचनको निर्णायक घडीमा आएको यस घटनालाई ओखलढुंगाको राजनीतिक समीकरणमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ।

























