६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

कांग्रेस सोलुखुम्बुमा एकताको सन्देश: सभापति शेर्पाद्वारा माघ २० मा बृहत चुनावी बैठक आह्वान



सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु अन्ततः आन्तरिक असन्तुष्टि चिर्दै एक भएर आगामी प्रतिनिधिसभा निर्वाचनमा होमिने भएको छ। टिकट बाँडफाँडपछि असन्तुष्ट पक्षले असहयोग गर्ने वा मौन बस्ने आशंका गरिँदै आए पनि कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्कीलाई जिताउने विषयमा जिल्ला संगठन एक ढिक्का भएको दाबी गरिएको छ।

चुनावी तयारीलाई थप सशक्त बनाउन नेपाली कांग्रेस सोलुखुम्बुका जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले माघ २० गते बृहत बैठक आह्वान गरेका छन्। पार्टी कार्यालय बसन्तबजारमा बिहान ठीक ८ बजे सुरु हुने बैठकमा निर्वाचन रणनीति, संगठनात्मक परिचालन र विजय सुनिश्चित गर्ने विषयमा आवश्यक छलफल तथा निर्णय लिइने सभापति शेर्पाले जानकारी दिए।

सभापति शेर्पाले कांग्रेस अब पूर्ण रूपमा एक भएको दाबी गर्दै भने, “कांग्रेस एक छ, प्रकाश सिंह कार्कीलाई जिताएर मात्रै विश्राम लिन्छौँ। जित सुनिश्चित छ।” उनका अनुसार बैठकमा जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यदेखि केन्द्रीय र पूर्व केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, कोशी प्रदेश कार्यसमिति सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख, पूर्व सभापति, प्रदेश प्रतिनिधि, प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार, क्षेत्रीय र पालिका सभापति तथा भातृ–सुभेच्छुक संस्थाका जिल्ला प्रमुखहरूको अनिवार्य सहभागिता रहनेछ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिद्वारा जारी सूचनामा सबै सम्बन्धित पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ। लामो समयदेखि देखिएको आन्तरिक असन्तुलनलाई अन्त्य गर्दै एकताको सन्देशसहित चुनावी मैदानमा उत्रिन लागेको कांग्रेसको यो बैठकलाई सोलुखुम्बुमा निर्णायक मानिएको छ।

उम्मेदवार सिफारिसमा पनि कांग्रेस सोलुखुम्बुको इतिहासमा पहिलो पटक सहमतीको आधारमा गरिएको थियो । त्यस समयदेखि कांग्रेस एक भएको सन्देश मतदाता माझ पुगेको छ । एकताको नेतृत्व सभापति शेर्पाले लिएका छन् ।

प्रकाशित मिति : १९ माघ २०८२, आइतबार  ११ : १० बजे