काठमाडौँ । लोक दोहोरी गायिका कला गुरुङको मौलिक कौडा (कौराह) गीत ‘हाँसी राखन माया बोलि राखन’ सार्वजनिक गरिएको छ ।
काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । शिव खाम्चा मगरको शब्द तथा भाकामा तयार गरिएको यस गीतमा सागर बिरही र कला गुरुङको स्वर रहेको छ ।
गीतको म्युजिक एरेञ्जसँगै कथा तथा भिडियो निर्देशन सागर बिरही आफैँले गरेका हुन्। भिडियोमा मनोज गुरुङ र चाहना मगरको अभिनय देख्न सकिन्छ । मौलिक कौराह भाकामा निर्माण गरिएको गीतमा गोरखा र तनहुँको भुगोललाई प्रेमिल रससँग सुन्दर रूपमा मिश्रण गरिएको छ ।

संगम इन्टरटेनमेन्टको ब्यानरमा पोस्ट प्रोडक्सन गरिएको भिडियोमा राजाराम सिंखडाको सिनेमेटोग्राफी, सुरेश श्रेष्ठको डीओपी, सुजन कोइरालाको सम्पादन तथा कलर रहेको छ । मेकअप बिमलाले गरेकी हुन् ।
यसअघि सार्वजनिक गीत ‘घरबारे माया’लाई दर्शकले मन पराएपछि कौराह गीत सार्वजनिक गरिएको गायिका गुरुङको भनाई छ । उक्त गीतलाई यूट्युवमा १६ लाख बढी पटक हेरिएको छ ।
भिडियोको निर्देशक समेत रहेका गायक विरहीले मौलिक परम्परालाई जर्गेना र कान्छो पुस्तामा हस्तान्तरण गर्ने द्येयले दृष्य समाबेश गरिएको दाबी गरे ।

मोडल मनोज गुरुङ पनि गीतले दर्शकको मन जित्नेमा विश्वस्त छन् । भन्छन्, ‘सदाबहार बन्न सक्ने कौराहमा आफूलाई फिचर्ड गराउन पाउँदा निकै खुसी छु ।’
गीतको भिडियो कला गुरुङ अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

























