६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

महाकुलुङ गाउँपालिकाले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खननमा रोक लगायो



सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सार्वजनिक भौतिक संरचनाको वरपर ढुङ्गा, गिट्टी र बालुवा जस्ता प्राकृतिक स्रोत साधनको अवैध उत्खनन तथा निकासी कार्यमा कडाइका साथ रोक लगाएको छ।

गाउँपालिकाका अनुसार सडक, पुल, कल्भर्ट, खानेपानी आयोजना, विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी भवन वरपर अवैध उत्खनन भइरहेको गुनासो बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो। यस्ता गतिविधिले सार्वजनिक भौतिक संरचनामा प्रत्यक्ष असर पार्नुका साथै ती संरचनाको दीर्घकालीन टिकाउमा समेत गम्भीर जोखिम सिर्जना गरिरहेको जनाइएको छ।

गाउँपालिकाले जारी गरेको सूचनामा राज्य र जनताको साझा सम्पत्तिमा क्षति पुग्ने भएकाले उक्त कार्य पूर्ण रूपमा बन्द गर्न सबैमा अनुरोध गरिएको छ। साथै सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु प्रत्येक नागरिकको दायित्व भएको उल्लेख गर्दै, यस्तो गतिविधि नगर्न तथा भइरहेको देखिएमा सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको कार्यालयमा तुरुन्त जानकारी गराउन आग्रह गरिएको छ।

सूचनाको उल्लङ्घन गरी सार्वजनिक भौतिक संरचना वरपर प्राकृतिक स्रोत साधनको उत्खनन वा निकासी गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत विभूति निरौलाद्वारा जारी सूचनामा सम्बन्धित सबै व्यक्ति, संस्था तथा निर्माण व्यवसायीहरूलाई सूचनाको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : २८ माघ २०८२, मंगलबार  ४ : २४ बजे