रुपन्देही । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री चेतनारायण आचार्यको घरमा डेढ महिनाभित्र दुई पटक चोरी भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका हटारीनेटास्थित उनको निजी निवासमा गएराति दोस्रो पटक चोरी भएको प्रहरीले जनाएको छ ।
खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्य परिवारसहित काठमाडौं गएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ । तर, घरका परिवार नभएकाले के कति चोरी भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
‘के कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ’, प्रहरी नायब उपरीक्षक रिजालले भने, ‘हामीले अनुसन्धान थालेका छौं ।,
डेढ महिनाअघि पनि आचार्यको घरमा चोरी भएको थियो । त्यसवेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको मन्त्रीका निजी सचिव प्रदीप नेपालीले बताए ।
‘उहाँहरु घरमा नभएकाले क्षतिको विवरण खुलेको छैन, डेढ महिनाअघि पनि चोरी भएको थियो, अहिले बढी क्षति भएको देखिन्छ’, उनले भने ।