२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

बागमती गाउँपालिकामा शिक्षा योजना निर्माण सम्बन्धी कार्यशाला सुरु



ललितपुर । जिल्लाको बागमती गाउँपालिका र रीड नेपालको आयोजना तथा उड अन ड्याडको आर्थिक सहयोगमा स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धी दुई दिने कार्यशाला सुरु गरिएको छ । 

बिहीबार पालिकाको सभा हलमा सुरु कार्यशालाको उद्घाटन सत्रमा बोल्दै पालिका अध्यक्ष वीर बहादुर लोप्चनले शिक्षकहरूको घनिभूत छलफलबाट जिल्लाकै नमुना शिक्षा योजना तयार हुने विश्वास व्यक्त गरे ।

रीड नेपालका कार्यक्रम संयोजक ऋषि केश आचार्यले कार्यशालाको औचित्य माथि प्रकाश पार्दै स्थानीय तहमा शिक्षा योजनाको महत्वबारे आफ्ना भनाई राखे ।

उद्घाटन सत्रमा पालिका उपाध्यक्ष भक्त बहादुर दर्लामी मगर, प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले, शिक्षा शाखा प्रमुख प्रेम प्रसाद पुरी, विभिन्न वडाका वडाध्यक्षहरू, माध्यमिक विद्यालयका प्रध्यानाध्यापकहरू, स्रोत शिक्षक, बाल क्लबका पदाधिकारीहरू लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

शुक्रवारसम्म चल्ने कार्यशालाको सहजीकरण नेपाल सरकार पूर्व सह–सचिव डिल्लीराम लुइँटेलले गरिरहेका छन् । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले अनिवार्य गरेको स्थानीय तहको शिक्षाको आवधिक योजनामा स्थानीय तह भित्रको वर्तमान शैक्षिक स्थितिको लेखाजोखा गरी निश्चित अवधिमा लक्षित उपलब्धि हासिल गर्न बृहत योजना समावेश गरिन्छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ६ : २२ बजे