२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

सोलुदुधकुण्डको प्रशासनिक भवन शिलान्यास, विकास निर्माणको काम प्रकृतिमैत्री हुनुपर्ने उपप्रधानमन्त्री सिंहको भनाई



सोलुखुम्बु । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढँगले विकास निर्माणको काम गर्नुपर्ने बताएका छन् । आइतबार सोलु दुधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने बताउँदै प्रकृतिमैत्री हुने गरि प्रविधिको प्रयोग गरेर विकास निर्माणको काम गर्नुपर्नेमा जोड दिए ।

”विकास निर्माणको काम त गर्नुपर्छ । तर, विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ भन्ने हामीलाई घटनाक्रमले सिकाएको छ । अब त्यही अनुसार विकास निर्माणको काम गर्नुपर्छ ।” उनले भने, घर बनाउँदा, प्रशासनिक भवन बनाउँदा होस् वा विकास निर्माणको अरू काम गर्दा अब समय बमोजिम हामी चल्नैपर्छ । गाउँठाउँलाई जोगाउने हो भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ ।” उनलेले प्रशासकीय भवन निर्माण भएपछि पालिकाको सेवाप्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरे ।

उनले पर्यटकिय हिसावले सोलुखुम्बु उत्कृष्ट गन्तव्य रहेको भन्दै ४० वर्ष अगाडि पिता गणेशमान सिंहसँग सोलुखुम्बु आएको स्मरण गरे । ४० वर्ष अगाडी र अहिले हेर्दा आफूले सोलुखुम्बुमा विकास निर्माणको हिसावले धेरै परिवर्तन पाएको सिंहले बताए। अहिले व्यवस्था फेरियो अवस्था फेरिएन भन्दै गलत भाष्य बनाउन खोजिएपनि यथार्थ त्यस्तो नरहेको बताए ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरता र आर्थिक विकासका लागि अहिलेको सरकारले काम गरिरहेको भन्दै जनतालाई थप अधिकारसम्पन्न बनाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे । ”संविधानलाई अझ प्रभावकारी बनाउन, तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन करिब एक दशकको तिता मिठा अनुभवबाट सिकेर कहाँ कहाँ समस्या भयो त्यसलाई हल गर्न संविधान संशोधन गर्ने सहमति कांग्रेस(एमाले सरकार बन्दानै भएको हो। त्यहीअनुसार अहिले छलफल अघि बढेको छ”, उनले भने । संविधान जारी गर्दाजस्तै सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने सिंहको भनाई थियो ।
उपप्रधानमन्त्री सिंहले शिलान्यास गरेको प्रशासकीय भवन पालिकाको आन्तरिक स्रोतबाट २ वर्षभित्रै बनाइसक्ने नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताएका छन् । कार्यक्रममा रक्षा मन्त्री मानवीर राई पनि सहभागी रहेका थिए ।

आज सिलान्यास गरिएको उक्त भवनको लागत भ्याटसहित ७ करोड १४ लाख १९ हजार ३ सय ६३ रुपैयाँ रहेको छ । उक्त भवन आगामी २०८२ साल चैत ३० गते सम्पन्न गर्ने गरि २०८१ साल कार्तिक ५ गते आर एम सि पिआर एच बि जेभिले ठेक्का सम्झौता गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १ : २० बजे