१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

१७ पटक प्रधानमन्त्रीमा पराजित रामचन्द्र राष्ट्रपति बने


२५ फाल्गुन २०७९, बिहिबार  

64
Shares

काठमाडौं । १७ पटक प्रधानमन्त्रीमा पराजित रामचन्द्र पौडेल गणतन्त्र नेपालको चौथो कार्यकालको तेस्रो राष्ट्रपति पदमा निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।


को हुन् पौडेल ?
वीपी कोइरालालाई राजा महेन्द्रले ०१७ सालमा जेल हालेपछि रामचन्द्र पौडेल राजनीतिमा प्रवेश गरे । त्यस बेला उनी १६ वर्षका मात्रै थिए । वीपी कोइराला ०३३ सालमा भारतको निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरेका पौडेलले युवा अवस्थामा नै शीर्ष नेताहरुबीचको अन्तरसंघर्षका क्रममा सम्वन्ध सेतुको काम गर्थे । बनारसमा रहेका बीपी कोइराला र कोलकातामा रहेका सुवर्णशमशेरबीच मनमुटाव हुँदा आफूले नै उनीहरुबीच सम्वाद स्थापित गराउने काम गरेका थिए ।


विसं. २००१ सालको असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका पौडेल नेपाली कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा सहभागिता जनाएका थिए । ०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भए । ०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा पौडेल पनि सहभागी थिए । र, उनी संस्थापक केन्द्रीय सदस्य बने ।

०४० सालमा कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक बनेका पौडेल ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका बने । त्यसयता निरन्तर केन्द्रीय सदस्य बनिरहे । ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए । दोस्रोपटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरे । रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । ०६२ सालमा कांग्रेस महामन्त्री भए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक पनि थिए । ०६३ सालमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री भए, जुन सरकारमा माओवादी पनि संलग्न थियो । ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित भए ।

पौडेलले पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा २०१९ देखि वि.सं. २०४६ सम्म विभिन्नपटक गरी १३ वर्ष जेल जीवन बिताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन् भने संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास गरेका छन् ।

पौडेलको राजनीतिक जीवनमा एउटा कालो धब्बा भनेकै प्रधानमन्त्री पदमा १७ पटकको पराजय हो । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो ।

आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो । अर्को चरणमा झलनाथले बाजी मारे भने रामचन्द्रको प्रतिस्पर्धा खेर गएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ११ : ५२ बजे