३ फाल्गुन २०८१, शनिबार | Sat Feb 15 2025

सोलुका स्रोत शिक्षकलाई तालिम सुरु



सोलुखुम्बुको शैक्षिक गुणस्तर तथा सुधारका क्षेत्रमा दुई दशकदेखि काम गर्दै आइरहेको गैरसरकारी संस्था रीड नेपालले स्थानीय तहको समन्वयमा स्थानीय स्रोत शिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ ।

६ दिनसम्म चल्ने तालिम आजदेखि सल्लेरीमा सुरु गरिएको हो । तालिममा खुम्बु पासाङल्हमू गाउँपालिका बाहेकका ७ स्थानीय तहका २० जना स्रोत व्यक्तिको सहभागिता रहेको छ । रीड नेपालले स्रोत शिक्षक सञ्जाल निर्माण गरि काम गर्दै आएको छ । सो सञ्जालमा २१ शिक्षक आबद्ध छन् ।

सोलुदुधकुण्ड नगरपालिकामा ४ जना, थुलुङ दुधकोशी गाउँपालिकामा ३ जना, नेचासल्यान गाउँपालिकामा ४ जना, माप्यदुधकोशी गाउँपालिकामा ४ जना, सोताङ गाउँपालिकामा २ जना, महाकुलुङ गाउँपालिकामा २ जना र लिखुपिके गाउँपालिकामामा २ जना गरी २१ जना शिक्षक स्थानीय स्रोत शिक्षक सञ्जालमा छन् ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले शैक्षिक गुणस्तरमा टेवा पुगोस् भन्ने हेतुले स्रोत व्यक्ति सञ्जाल बनाएर अघि बढेको बताए । स्थानीय स्रोत शिक्षकहरुले सम्बन्धित पालिकाका विद्यालयमा गएर अनुगमन निरीक्षण गर्ने, आफुले सिकेका सीप अन्य शिक्षकहरुसँग आदानप्रदान गर्ने, विद्यालयका सुधार गर्नु पर्ने पक्षहरु बारे पृष्ठपोषण दिने लगायतका काम गर्ने गरेका छन् । त्यस्तै, शैक्षिक सामग्री निर्माण तथा प्रयोग, कक्षाकोठा व्यवस्थापनको पाटोमा पनि सहयोग गर्दै आएको रीड नेपालले जनाएको छ ।

तालिममा आधारभूत शैक्षिक सामग्री निर्माण र प्रयोग, परिवर्तित पाठ्यक्रम तथा विद्यार्थी सिकाइ मूल्यांकन, विद्यालयको वर्तमान अवस्थाको विश्लेषण, नमूना कक्षा तयारी तथा नमूना कक्षा प्रदर्शन, विद्यालय सहयोग भ्रमण कार्यक्रमको अवधारणा, योजना निर्माण, प्रतिवेदन लेखन लगायतका विषयवस्तु तालिममा समाबेश गरिएको शिक्षा विकास संयोजक गिरीले बताए ।

तालिमको उद्घाटन शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुण्यराज डंगोलले गरेका थिए । तालिमको सहजीकरण रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटी, रीड नेपाल ताप्लेजुङ जिल्ला प्रबन्धक राजेन्द्र पन्त, शिक्षा विकास संयोजक केशवेव गिरी, शिक्षा विकास अधिकृत सुजाता राईले गर्नेछन् ।

यसैबीच, रीड नेपालको आयोजना र सोलुखुम्बुको सोताङ गाउँपालिकाको सहकार्य तथा समन्वयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीका लागि जारी २ दिने क्षमता अभिवृद्धि तालिम विहीबार सकिएको छ ।
तालिममा सोताङका २० विद्यालयका ४७ जना पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ७ : २५ बजे