सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगरपालिकाको सौन्दर्यताका लागि नगरपालिकाभित्र निर्माण हुने घरको नक्सा ‘बैंक’ तयार गर्ने भएको छ ।
भौगोलिक तथा सांस्कृतिक झल्को दिने नमुना नक्साहरू तयार गरिने र त्यस मध्येबाट छनोट गरी नक्सा पास गरेर घर बनाउनुपर्ने छ ।
सोलुखुम्बुको पहिचान झल्किने गरी परम्परागत खालका विभिन्न किसिमका घर नक्सा तयार गर्न प्रारम्भिक चरणको छलफल भएको सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले जानकारी दिए । नगरको सौन्दर्यकरणका लागि व्यवस्थित र स्थानीयपन झल्किने भवन निर्माण गरी सुन्दर पर्यटकीय नगर बनाउन यस्तो गर्न लागिएको नगरप्रमुख शेर्पाले बताए ।
नक्सा तयार गर्न माहुरी नेपाल कन्सल्टेन्सीलाई जिम्मा दिइएको र पहिलो चरणको छलफल भएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले जानकारी दिइन् । नगरपालिकाका इन्जिनियरसँग समन्वय गरी स्थानीय सामग्रीको अधिकतम् प्रयोग गरेर विभिन्न लागतका भवनको घर नक्सा तयार गरिने उनले बताइन् ।
पहिलो चरणको छलफल पछि कन्सल्टेन्सीले स्थानीयका पुराना र कलात्मक भवनको समेत अवलोकन गरेको छ । – himshikharnews